शिक्षादेखि रोजगार र उद्यमशीलतासम्म जोड्ने ‘युवा पारिस्थितिकी प्रणाली’ निर्माण हुँदै: मन्त्री यादव
ड्रागन मिडिया सम्वाददाता
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार, उद्यमशीलता, लगानी र राष्ट्रिय विकाससम्म युवालाई जोड्ने एकीकृत ‘युवा पारिस्थितिकी प्रणाली’ निर्माण भइरहेको बताएका छन्।
अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले राष्ट्रिय युवा परिषद, ७५३ वटै स्थानीय तहका रोजगार, सीप तथा उद्यमशीलता सेवा केन्द्र र युवा तथा साना व्यवसायी स्वरोजगार कोषलगायत संयन्त्रलाई आपसमा जोडेर यस्तो प्रणाली विकास गर्न लागिएको बताए।
उनले युवाको सीप, क्षमता र सिर्जनशीलतालाई राष्ट्र निर्माणसँग जोड्नु सरकारको प्राथमिकता रहेको उल्लेख गरे।
युवा देशको भविष्य मात्र नभई वर्तमानसमेत भएको बताउँदै मन्त्री यादवले निर्णय प्रक्रिया, नेतृत्व र राष्ट्रिय विकासको यात्रामा युवालाई अग्रस्थानमा राख्नुपर्नेमा जोड दिए।
उनका अनुसार प्रस्तावित राष्ट्रिय युवा ऐनको विधेयकमा ३५ वर्षमुनिका युवालाई राष्ट्रिय युवा परिषदको उपाध्यक्ष बनाउनुपर्ने नयाँ व्यवस्था प्रस्ताव गरिएको छ। उनले यसलाई युवा नेतृत्वलाई संस्थागत रूपमा प्रोत्साहन गर्ने प्रयासका रूपमा प्रस्तुत गरे।
मन्त्री यादवले युवाले अवसर, सीप, रोजगार वा उद्यमशीलतासम्बन्धी सेवा लिन एउटा कार्यालयबाट अर्को कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्ने सरकारको लक्ष्य रहेको बताए।
एकीकृत प्रणालीमार्फत युवासम्बन्धी सेवा, अवसर र कार्यक्रमलाई सहज रूपमा उपलब्ध गराउँदै शिक्षा, सीप विकास, रोजगार, स्वरोजगार तथा उद्यमशीलतालाई एउटै श्रृंखलामा जोड्ने सरकारको योजना रहेको उनले बताए।





