१८ भाद्र २०८३, बिहीबार

कप्तानगन्ज गोलीकाण्डमा मृत्यु भएका रविन्द्र मेहताको बुधबार अन्त्येष्टि

ड्रागन मिडिया सम्वाददाता

सुनसरीको देवानगन्ज गाउँपालिकास्थित कप्तानगन्ज गोलीकाण्डमा घाइते भई उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताको बुधबार अन्त्येष्टि गरिँदैछ।

साउन १० गते राति कप्तानगन्जमा भएको गोलीकाण्डमा गम्भीर घाइते भएका मेहताको साउन १९ गते काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

पीडित परिवार र सरकारबीच सोमबार राति सात बुँदे सहमति भएपछि बुधबार बिहान हेलिकप्टरमार्फत मेहताको शव सुनसरी ल्याइएको हो।

स्थानीय विवेक मेहताका अनुसार बिहान करिब साढे १० बजे शव ल्याइएपछि हरिनगर गाउँपालिका हुँदै देवानगन्ज गाउँपालिका क्षेत्रमा सम्मानसहित परिक्रमा गराइएको थियो। त्यसपछि शव कप्तानगन्जस्थित घटना भएको स्थानमा राखिएको छ।

उनका अनुसार आवश्यक धार्मिक तथा सामाजिक विधि पूरा गरी सोही क्षेत्रमा मेहताको अन्त्येष्टि गर्ने तयारी गरिएको छ।

यसअघि कप्तानगन्ज गोलीकाण्डमा मृत्यु भएका जयप्रकाश मेहता र ओमप्रकाश मेहताको पनि सोही क्षेत्रमा अन्त्येष्टि गरिएको थियो।

गोलीकाण्डमा गम्भीर घाइते भएका रविन्द्रलाई सुरुमा विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार गरिएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो।

मेहता परिवारका एक्ला छोरा थिए। उनका आमाबुवा, दुई दिदी र एक बहिनी छन्।

सुनसरीको कप्तानगन्ज घटनामा तीन जनाको मृत्यु भएको छ। त्यसपछि उत्पन्न तनावका क्रममा सिराहाको गोलबजारमा गणेश यादवको पनि गोली लागेर मृत्यु भएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button