होर्मुज बन्द र उच्च इन्धन मूल्यका कारण सन् २०२६ मा विश्व तेल माग घट्ने: IEA

ड्रागन मिडिया समाचार कक्ष
अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी (IEA) ले होर्मुज जलडमरूमध्य निरन्तर बन्द रहनु र इन्धनको मूल्य उच्च बनेका कारण सन् २०२६ मा विश्वव्यापी तेल माग अघिल्लो वर्षको तुलनामा दैनिक १६ लाख ब्यारेलले घट्ने प्रक्षेपण गरेको छ।
IEA ले बुधबार सार्वजनिक गरेको अगस्ट महिनाको Oil Market Report मा अघिल्लो महिनाको अनुमानभन्दा मागको प्रक्षेपण थप दैनिक पाँच लाख १० हजार ब्यारेलले घटाइएको छ। होर्मुजको अवरोधले अन्तरराष्ट्रिय आपूर्ति श्रृंखलामा असर पार्नुका साथै पेट्रोलियम पदार्थको उपलब्धता सीमित बनाएको र उच्च मूल्यले उपभोगमा थप दबाब सिर्जना गरेको प्रतिवेदनमा उल्लेख छ।
यद्यपि सन् २०२६ को अन्तिम त्रैमासिकमा माग पुनः वृद्धितर्फ फर्कने IEA को अनुमान छ। सन् २०२७ मा विश्व तेल माग दैनिक २४ लाख ब्यारेलले बढ्ने प्रक्षेपण गरिएको छ।
विश्व तेल आपूर्ति जुलाईमा अघिल्लो महिनाको तुलनामा दैनिक २४ लाख ब्यारेलले बढेर दैनिक १० करोड १५ लाख ब्यारेल पुगेको थियो। तर यो अघिल्लो वर्षको समान अवधिको तुलनामा दैनिक ६३ लाख ब्यारेल कम हो।
खाडी क्षेत्रको तेल उत्पादन जूनमा दैनिक ३७ लाख ब्यारेल बढेपछि जुलाईमा थप २५ लाख ब्यारेल वृद्धि भएर दैनिक दुई करोड ३९ लाख ब्यारेल पुगेको थियो। तर उत्पादन युद्धपूर्वको स्तरभन्दा अझै दैनिक ८३ लाख ब्यारेल कम रहेको IEA ले जनाएको छ।
जुलाई र अगस्टको शुरुवातमा पुनः बढेको द्वन्द्व तथा समुद्री यातायातमा भएको अवरोधले उत्पादन र आपूर्ति पुनःस्थापना गर्ने प्रयास प्रभावित पारेको छ। यसका कारण IEA ले सन् २०२६ को तेस्रो त्रैमासिकको तेल आपूर्ति अनुमान अघिल्लो प्रतिवेदनको तुलनामा दैनिक १७ लाख ब्यारेलले घटाएको छ।
होर्मुज जलडमरूमध्य पुनः खोल्ने तथा बाब अल-मन्देब जलडमरूमार्फत निर्बाध समुद्री आवागमन सुनिश्चित गर्ने सहमति अझै हुन नसकेकाले वर्षको बाँकी अवधिका लागि आपूर्ति अनुमान पनि घटाइएको छ।
IEA का अनुसार सन् २०२६ मा विश्व तेल आपूर्ति औसत दैनिक ४३ लाख ब्यारेलले घटेर दैनिक १० करोड २० लाख ब्यारेलमा सीमित हुने अनुमान छ। अमेरिका महादेशबाट दैनिक करिब १४ लाख ब्यारेल थप उत्पादन भए पनि मध्यपूर्व र रुसमा भएको आपूर्ति ह्रास पूर्ण रूपमा पूर्ति गर्न नसक्ने प्रतिवेदनमा उल्लेख छ।
तेल बजारमा भू–राजनीतिक घटनाक्रमको प्रभाव मूल्यमा समेत स्पष्ट देखिएको छ। मध्यजूनमा भएको इरान–अमेरिका युद्धविराम समझदारी विफल भएपछि खाडी क्षेत्रको तेल आपूर्ति पुनः प्रभावित हुँदा जुलाईमा प्रमुख कच्चा तेलको मूल्य दुई महिनाकै उच्च स्तरमा पुगेको थियो।
जुलाईभर कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब ४० अमेरिकी डलरको असामान्य रूपमा फराकिलो दायरामा कारोबार भएको थियो। कूटनीतिक वार्तासम्बन्धी अपेक्षामा तीव्र परिवर्तन हुँदा मूल्यमा ठूलो उतारचढाव देखिएको IEA ले जनाएको छ।
IEA का अनुसार आपूर्ति अवरोधसँगै उच्च इन्धन मूल्यले विश्वव्यापी उपभोगमा थप दबाब सिर्जना गरिरहेको छ। होर्मुज तथा अन्य प्रमुख समुद्री मार्गको अवस्था सामान्य नहुँदासम्म तेल बजारमा आपूर्ति, मूल्य र मागसम्बन्धी अनिश्चितता कायम रहने देखिएको छ।





