१८ भाद्र २०८३, बिहीबार

लामो विदेश बसाइपछि आज स्वदेश फर्किँदै शेरबहादुर देउवा

ड्रागन मिडिया सम्वाददाता

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो समयको विदेश बसाइपछि आज बिहीबार स्वदेश फर्किँदै छन्।

स्वास्थ्य उपचार तथा नियमित फलोअपका क्रममा सिंगापुर र हङकङमा रहेका देउवा पछिल्लो चरणमा हङकङबाट थाइल्यान्डको राजधानी बैंकक पुगेका थिए। उनी बैंककबाट थाई एयरवेजको उडानमार्फत काठमाडौँ फर्किने कार्यक्रम छ।

यसअघि देउवा साउन २६ गते नेपाल फर्किने कार्यक्रम रहे पनि यात्रा तालिका परिवर्तन गरी साउन २८ गते स्वदेश फर्किने तय गरिएको थियो। उनको स्वदेश फिर्तीलाई नेपाली कांग्रेसभित्र विकसित पछिल्लो राजनीतिक परिस्थितिका कारण विशेष चासोका साथ हेरिएको छ।

कांग्रेसभित्र विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकतासम्बन्धी विवाद कायमै रहेका बेला देउवा पक्षले साउन २९ गते काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्दै छ। सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा पुनरवलोकनको अनुमति दिएपछि पार्टीभित्र राजनीतिक गतिविधि थप तीव्र बनेको छ। यस्तो अवस्थामा राष्ट्रिय भेलाको अघिल्लो दिन देउवा स्वदेश फर्किन लागेका हुन्।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी हुनुका साथै देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि आक्रमण भएको थियो। नेपालमै प्रारम्भिक उपचारपछि उनीहरू थप उपचारका लागि विदेश गएका थिए।

लामो समयदेखि सक्रिय राजनीतिक भूमिकाबाट टाढा रहेका देउवाको स्वदेश फिर्तीले कांग्रेसभित्रको पछिल्लो शक्ति समीकरण र आगामी राजनीतिक दिशामा पार्ने प्रभावलाई समेत चासोका साथ हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button