१८ भाद्र २०८३, बिहीबार

१२ सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा काठमाडौं महानगरको ६२ करोडभन्दा बढी लगानी

ड्रागन मिडिया सम्वाददाता

काठमाडौँ महानगरपालिकाले १२ वटा सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा सुधारका लागि ६२ करोड २८ लाख रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ।

महानगरको शिक्षा विभागका अनुसार विद्यालयको भौतिक अवस्था प्रचलित मापदण्डअनुसार सुधार गर्न विद्यार्थी सङ्ख्या, जग्गाको स्वामित्व, भौगोलिक जोखिम तथा पूर्वाधारको आवश्यकताका आधारमा बजेट उपलब्ध गराइनेछ।

सहरी योजना आयोगले गरेको अध्ययनका आधारमा विद्यालयको पूर्वाधार निर्माणका लागि आवश्यक खरिद प्रक्रिया अघि बढाइएको शिक्षा विभाग प्रमुख नवराज ढकालले बताए। उनका अनुसार प्रत्येक विद्यालयको भौगोलिक अवस्थिति, विद्यार्थी र उपलब्ध जग्गाको अनुपात तथा बाढीलगायत प्राकृतिक जोखिमको अध्ययनपछि मात्र लगानी प्रस्ताव अघि सारिएको हो।

कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर प्रतिस्पर्धी र समयको मागअनुसार बनाउन महानगरले लगानी बढाएको बताइन्। उनका अनुसार बालमैत्री सिकाइ, प्रविधिमा आधारित कक्षाकोठा, वातावरणीय सुधार, सजावट तथा प्रयोगात्मक अभ्यासका अवसर सबै विद्यालयमा समान रूपमा उपलब्ध गराउने लक्ष्य महानगरको छ।

शिक्षा विभागका महाशाखा प्रमुख सुशील सुवेदीका अनुसार सम्बन्धित विद्यालयको खरिद प्रक्रिया क्रमशः अघि बढाइएको छ।

वडा नं १४ स्थित जनविकास माध्यमिक विद्यालयका लागि पाँच करोड ६७ लाख ६८ हजार ८६२ रुपैयाँ र वडा नं २८ स्थित पद्मोदय माध्यमिक विद्यालयका लागि १५ करोड ३५ लाख ७४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

सार्वजनिक निर्माण विभागमार्फत छवटा विद्यालयको पूर्वाधार निर्माणका लागि पनि खरिद प्रक्रिया अघि बढाइएको छ। वडा नं २४ स्थित श्री कान्ति ईश्वरी राज्यलक्ष्मी आधारभूत विद्यालयका लागि पाँच करोड ५७ लाख ४९ हजार रुपैयाँ र वडा नं २६ स्थित शान्ति विद्यागृह माध्यमिक विद्यालयको भवन निर्माणका लागि आठ करोड ५७ लाख ४२ हजार रुपैयाँ विनियोजन गरिएको छ।

वडा नं २९ मा स्थापना गरिने अटिजम स्कुलका लागि १० करोड ९१ लाख ७९ हजार रुपैयाँ छुट्याइएको छ। दरबार हाई स्कुलमा एक करोड ८३ लाख २९ हजार रुपैयाँको लागतमा बहुउद्देश्यीय सभा कक्ष निर्माण गरिनेछ भने महेन्द्र माध्यमिक विद्यालय बौद्धको मर्मतसम्भारका लागि ८४ लाख १२ हजार रुपैयाँ खर्च गरिनेछ।

यसैगरी कन्या माध्यमिक विद्यालयमा छात्रावास तथा कक्षाकोठा निर्माणका लागि नौ करोड ६२ लाख ५४ हजार रुपैयाँको लागतमा खरिद प्रक्रिया सुरु गरिएको महानगरले जनाएको छ।

महानगरपालिकाले पूर्वाधार सुधारलाई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर, पहुँच र सिकाइ वातावरण सुधारसँग जोडेर अघि बढाउने नीति लिएको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button