कैद तथा जरिवाना तोकिएपछि फरार चार प्रतिवादी पक्राउ

ड्रागन मिडिया सम्वाददाता
जिल्ला प्रहरी कार्यालयले अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार अदालतको फैसला कार्यान्वयनका क्रममा फरार प्रतिवादीको खोजी गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा चोरी मुद्दामा दोषी ठहर भएका शुद्धोधन गाउँपालिका–७ खुनगाउँका विशाल थारू छन्। उनलाई अदालतले दुई महिना चार दिन कैद सजाय तोकेको थियो।
त्यस्तै, जबर्जस्ती करणी उद्योग मुद्दामा शुद्धोधन गाउँपालिका–६ बेलहियाका रामदरस लोहार पक्राउ परेका छन्। अदालतले उनलाई एक वर्ष पाँच महिना छ दिन कैद र १५ हजार रुपैयाँ जरिवाना तोकेको थियो।
चोरी मुद्दामै सियारी गाउँपालिका–८ छपियाका गणेश मल्लाह पनि पक्राउ परेका छन्। उनलाई अदालतले दुई महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो।
सोही मुद्दामा शुद्धोधन गाउँपालिका–५ रजाडका सुन्दर केवट भनिने वासुदेव केवट पक्राउ परेका छन्। उनलाई अदालतले दुई महिना तीन दिन कैद र छ हजार रुपैयाँ जरिवाना तोकेको थियो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका चारै जनालाई सम्बन्धित अदालतमा पेस गरिएको छ।
जिल्ला प्रहरीले अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियान निरन्तर सञ्चालन गरिरहेको जनाएको छ।





