किशोर श्रेष्ठ पक्राउको भोलिपल्ट जनआस्था कार्यालयमा प्रहरी छापा

ड्रागन मिडिया सम्वाददाता
जनआस्था साप्ताहिकका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको भोलिपल्ट प्रहरीले पत्रिकाको कार्यालयमा छापा मारेर कम्प्युटरसहित विभिन्न सामग्री नियन्त्रणमा लिएको छ।
प्राप्त विवरणअनुसार बिहीबार बिहान प्रहरी टोली जनआस्थाको कार्यालय पुगेको थियो। कार्यालय आसपास प्रहरी परिचालन गरी कम्प्युटरलगायत विभिन्न सामग्री नियन्त्रणमा लिएर अनुसन्धानका लागि लगिएको जनाइएको छ।
यसअघि बुधबार साँझ प्रहरीले पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो। काठमाडौँ प्रहरी परिसरका अनुसार उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसूरमा कानुनी प्रक्रिया अघि बढाइएको छ। श्रेष्ठ पक्राउ परेको तथ्य अन्य सञ्चारमाध्यमले समेत पुष्टि गरेका छन्।
प्रहरीका अनुसार दीपिका सिंहले दिएको जाहेरीका आधारमा नेपाल सरकार वादी रहने गरी श्रेष्ठमाथि वैयक्तिक गोपनीयतासम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको हो।
श्रेष्ठको पक्राउपछि भोलिपल्टै उनले सञ्चालन गर्दै आएको सञ्चार संस्थाको कार्यालयमा पुगेर कम्प्युटर तथा अन्य सामग्री नियन्त्रणमा लिइएको घटनाले पत्रकारिता क्षेत्रको ध्यान आकर्षित गरेको छ।
प्रहरीले नियन्त्रणमा लिएका सामग्री अनुसन्धानसँग सम्बन्धित रहेको जनाएको भए पनि ती सामग्रीको विस्तृत विवरण तथा कार्यालयमा गरिएको खोजतलासको कानुनी आधारबारे थप विवरण सार्वजनिक भइसकेको छैन।
श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघलगायत पत्रकार तथा सञ्चारकर्मीले चासो र आपत्ति जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित विषयमा राज्यका निकायले संवेदनशीलता अपनाउनुपर्ने बताएका छन्।





