१७ भाद्र २०८३, बुधबार

आज देशका धेरै भागमा वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिममा सतर्क रहन आग्रह

ड्रागन मिडिया सम्वाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लागेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बादल रहने सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना रहेको छ।

मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने विभागले जनाएको छ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस प्रदेशका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

विभागले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले सम्भावित जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सम्बन्धित सबैलाई मौसमको अवस्थाबारे अद्यावधिक जानकारी लिएर आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button