रोल्पाको थबाङमा पहिरो: दुईको मृत्यु, दुई गम्भीर घाइते, १० सम्पर्कविहीन

ड्रागन मिडिया सम्वाददाता
अविरल वर्षापछि खसेको पहिरोले घर तथा गोठ पुरिँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा दुई जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन् भने १० जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ।
बुधबार राति करिब पौने ९ बजे स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब छवटा घर तथा गोठमा पहिरो खसेको थियो।
पहिरोमा परी बोटलबारा निवासी १८ वर्षीया शान्ति पुन मगर र करिब ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्।
घाइतेहरूको उपचारका लागि आवश्यक समन्वय भइरहेको छ। पहिरोपछि सम्पर्कविहीन भएका १० जनाको खोजीका लागि बिहीबार बिहानैदेखि तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी र स्थानीय समुदाय परिचालन भएका छन्।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसहित जिल्लाका सुरक्षा प्रमुखहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्यको समन्वय गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक पञ्चबहादुर बाकुका अनुसार घटनास्थलभन्दा माथिल्लो पहाडी क्षेत्रबाट ठूलो पहिरो खसेको हो। पहिरोले बाटोसहित छदेखि सातवटा घर तथा अन्य संरचना बगाएर उवा खोलातर्फ पुर्याएको जनाइएको छ।
घटनास्थलमा उद्धार कार्य जारी रहेकाले क्षतिको पूर्ण विवरण आउन बाँकी छ।





