चीनमा नयाँ ऊर्जा सवारीको हिस्सा पहिलोपटक मासिक बिक्रीको ६० प्रतिशत नाघ्यो

ड्रागन मिडिया समाचार कक्ष
चीनमा नयाँ ऊर्जा सवारीसाधनको बिक्रीले नयाँ कीर्तिमान कायम गरेको छ। जुलाई २०२६ मा बिक्री भएका नयाँ सवारीमध्ये नयाँ ऊर्जा सवारीको हिस्सा पहिलोपटक ६० प्रतिशत नाघेको छ भने वर्षको पहिलो सात महिनाको समग्र बिक्रीमा समेत यसको हिस्सा ५० प्रतिशतभन्दा माथि पुगेको छ।
चीन अटोमोबाइल उद्योग संघका अनुसार जुलाईमा १५ लाख ७० हजारभन्दा बढी नयाँ ऊर्जा सवारी उत्पादन भएका छन् भने बिक्री १५ लाख ६० हजारभन्दा बढी पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा उत्पादनतर्फ २६.८ प्रतिशत र बिक्रीतर्फ २३.७ प्रतिशत वृद्धि हो।
नयाँ ऊर्जा सवारीमध्ये शुद्ध विद्युतीय सवारीको उत्पादन र बिक्री दुवै जुलाईमा १० लाखभन्दा बढी पुगेका छन्। यी दुवै सूचक अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतभन्दा बढीले बढेका हुन्।
जनवरीदेखि जुलाईसम्म चीनमा नयाँ ऊर्जा सवारीको उत्पादन ९० लाख १० हजार र बिक्री करिब ९० लाख पुगेको छ। दुवैमा वार्षिक आधारमा झन्डै १० प्रतिशत वृद्धि भएको छ।
समग्र अटोमोबाइल बजारमा भने जुलाईमा २५ लाख ७० हजार सवारी उत्पादन र २५ लाख ८० हजार बिक्री भएका छन्। मासिक र वार्षिक दुवै आधारमा सामान्य गिरावट देखिएको छ।
चीन अटोमोबाइल उद्योग संघका उपमहासचिव छन शिह्वाले जुलाईलाई परम्परागत रूपमा सवारी बिक्रीको सुस्त अवधि मानिने बताएका छन्। वर्षको पहिलो छ महिनाको बिक्री लक्ष्य पूरा गर्न माग पहिले नै अगाडि सरेको, उच्च तापक्रम तथा केही क्षेत्रमा आँधी र बाढीको प्रभावका कारण जुलाईको समग्र बजार प्रभावित भएको उनको भनाइ छ।
चीनको सवारी निर्यात भने तीव्र गतिमा बढेको छ। जुलाईमा १० लाख ४० हजारभन्दा बढी सवारी निर्यात भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ८१.३ प्रतिशत बढी हो। नयाँ ऊर्जा सवारीको निर्यात करिब डेढ गुणा बढेर पाँच लाख ५३ हजार पुगेको छ। लगातार दोस्रो महिनासम्म कुल सवारी निर्यातमा नयाँ ऊर्जा सवारीको हिस्सा आधाभन्दा बढी रहेको छ।
जनवरीदेखि जुलाईसम्म चीनले ६१ लाख ४० हजार सवारी निर्यात गरेको छ, जुन वार्षिक आधारमा ६६.८ प्रतिशत वृद्धि हो। यसमध्ये २९ लाख १० हजार नयाँ ऊर्जा सवारी थिए, जसको निर्यात अघिल्लो वर्षको तुलनामा १.२ गुणाले बढेको छ।
उच्च तेल मूल्यका कारण पेट्रोलियम इन्धनमा आधारित सवारी सञ्चालन खर्च बढ्नु र विद्युतीय सवारीको प्रविधि, सुरक्षा तथा एकपटकको चार्जमा चल्ने दूरीमा निरन्तर सुधार आउनुलाई नयाँ ऊर्जा सवारीको माग वृद्धिका प्रमुख कारण मानिएको छ। चिनियाँ उत्पादकले अनुसन्धान तथा विकासमा लगानी बढाउनुका साथै विभिन्न मूल्य र आवश्यकताअनुसारका मोडल बजारमा ल्याइरहेका छन्।
चार्जिङ पूर्वाधार पनि तीव्र रूपमा विस्तार भइरहेको छ। चीनको राष्ट्रिय ऊर्जा प्रशासनका अनुसार जुन महिनाको अन्त्यसम्म देशभर विद्युतीय सवारीका चार्जिङ सुविधा दुई करोड ३० लाख ६० हजार पुगेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४३.२ प्रतिशत वृद्धि हो।
सन् २०२६ देखि २०३० सम्मको १५औँ पञ्चवर्षीय योजना अवधिको कार्बन उत्सर्जन उच्चतम विन्दुमा पुर्याउने कार्ययोजनाअन्तर्गत चीनले सन् २०३० सम्म देशको कुल सवारी सङ्ख्यामा नयाँ ऊर्जा सवारीको हिस्सा करिब ३० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ।





