१८ भाद्र २०८३, बिहीबार

करिब पाँच महिनापछि आज स्वदेश फर्किँदै शेरबहादुर देउवा

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब पाँच महिनाको विदेश बसाइपछि आज बिहीबार स्वदेश फर्किँदै छन्।

स्वास्थ्य उपचार तथा फलोअपका क्रममा सिंगापुर र हङकङमा रहेका देउवा पछिल्लो समय थाइल्यान्डको राजधानी बैंकक पुगेका थिए। उनी बैंककबाट थाइ एयरवेजको विमानमार्फत मध्याह्न १२:२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।

देउवाको स्वागतका लागि उनीनिकट कांग्रेस नेता तथा कार्यकर्ताले विमानस्थल क्षेत्रमा ठूलो सङ्ख्यामा उपस्थित हुने तयारी गरेका छन्। नेता–कार्यकर्तालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वार आसपास तथा तिलगंगा क्षेत्रलगायत स्थानमा भेला हुन आह्वान गरिएको छ। बाजागाजासहित देउवाको स्वागत गर्ने तयारी गरिएको छ।

देउवा गत फागुन १३ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए। गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निवासमा भएको आक्रमणमा उनी घाइते भएका थिए। नेपालमा प्रारम्भिक उपचारपछि थप स्वास्थ्य परीक्षण तथा उपचारका लागि उनी विदेश गएका थिए।

सिंगापुरमा उपचारपछि देउवा पत्नी आरजु राणा देउवासहित हङकङ पुगेका थिए। पछिल्लो चरणमा उनी हङकङबाट बैंकक पुगेका हुन्।

देउवाले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायलाई पत्र पठाउँदै साउनभित्रै नेपाल फर्किने जानकारी गराएका थिए।

देउवासँग उनकी पत्नी आरजु राणा देउवा र छोरा जयवीर देउवा भने अहिले नेपाल नफर्किने जनाइएको छ।

कांग्रेसभित्र पछिल्लो समय आन्तरिक राजनीतिक गतिविधि तीव्र बनेका बेला देउवाको स्वदेश फिर्तीलाई विशेष चासोका साथ हेरिएको छ। उनीनिकट पक्षले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेका बेला उनको आगमन हुन लागेको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button