१७ भाद्र २०८३, बुधबार

टिपर दुर्घटनामा एक जनाको मृत्यु, चालक नियन्त्रणमा

ड्रागन मिडिया सम्वाददाता

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित भित्री सडक खण्डमा बुधबार साँझ टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मानेश्वराबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ५ ख ४११० नम्बरको ढुङ्गा बोकेको टिपर साँझ करिब ६:५० बजे अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

काभ्रेको पाँचखाल नगरपालिका–१३ का २५ वर्षीय अनिस पाण्डेले चलाएको टिपर अनियन्त्रित भएपछि त्यसमा सवार बाह्रबिसे–८ का २९ वर्षीय राजु लामाले सडक छेउतर्फ हाम फालेका थिए। सोही क्रममा पल्टिएको टिपरले च्याप्दा उनी गम्भीर घाइते भएका थिए।

घटनालगत्तै इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले लामाको उद्धार गरी नगर अस्पताल बाह्रबिसे पुर्‍याएको थियो। उपचारका क्रममा साँझ ७:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

कानुनी प्रक्रिया पूरा गरी शवको पोस्टमार्टमपछि मृतकका बुवा हिराबहादुर तामाङलाई जिम्मा लगाइएको छ।

दुर्घटनामा संलग्न टिपर चालक पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button