१८ भाद्र २०८३, बिहीबार

किशोर श्रेष्ठको शीघ्र रिहाइ गर्न मानव अधिकार तथा शान्ति समाजको माग

ड्रागन मिडिया सम्वाददाता

मानव अधिकार तथा शान्ति समाजले जनआस्था साप्ताहिकका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठको गिरफ्तारी र पत्रिकाको कार्यालयमा गरिएको प्रहरी कारवाहीप्रति गम्भीर आपत्ति जनाउँदै उनको शीघ्र रिहाइको माग गरेको छ।

समाजकी सभापति रेनुका पौडेलद्वारा जारी विज्ञप्तिमा श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी कसूरमा पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप रोक्न सरकारसँग आग्रह गरिएको छ।

समाजले सञ्चारमाध्यमबाट कुनै त्रुटि भएको अवस्थामा त्यसको निरूपणका लागि स्थापित कानुनी तथा नियामक प्रक्रिया अवलम्बन गर्नुपर्नेमा पत्रकारलाई गिरफ्तार गर्नु लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको जनाएको छ।

श्रेष्ठ पक्राउ परेको भोलिपल्ट बिहीबार बिहान प्रहरीले उनी सम्पादक रहेको जनआस्था साप्ताहिकको कार्यालयमा पुगेर कम्प्युटरलगायत विभिन्न सामग्री नियन्त्रणमा लिएको थियो। पत्रकार श्रेष्ठ वैयक्तिक गोपनीयतासम्बन्धी कसूरमा अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा बुधबार साँझ पक्राउ परेका थिए।

शान्ति समाजले सञ्चार संस्थाको कार्यालयमा गरिएको प्रहरी कारवाहीलाई निन्दनीय र दुराशययुक्त भन्दै यसबाट प्रेस स्वतन्त्रता तथा नागरिकका मौलिक हकमाथि गम्भीर प्रश्न उत्पन्न भएको जनाएको छ।

समाजले नेपालको संविधानको प्रस्तावना र धारा १९ ले पूर्ण प्रेस स्वतन्त्रता तथा सञ्चारको हकलाई संवैधानिक संरक्षण प्रदान गरेको स्मरण गराएको छ। संविधानले सञ्चारमाध्यममाथि पूर्वप्रतिबन्ध लगाउने तथा प्रकाशित सामग्रीकै कारण सञ्चारमाध्यम बन्द वा जफत गर्नेजस्ता हस्तक्षेपविरुद्ध संरक्षणको व्यवस्था गरेको छ।

त्यस्तै, नेपाल पक्ष राष्ट्र रहेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रको धारा १९, नेपाल पक्ष राष्ट्र रहेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रको धारा १९ ले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै समाजले त्यसअनुरूप राज्यले प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्ने जनाएको छ।

अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले स्वतन्त्र र अवरोधरहित सञ्चारमाध्यमलाई लोकतान्त्रिक समाजको महत्वपूर्ण आधार मानेको छ। संयुक्त राष्ट्र मानव अधिकार समितिको व्याख्याले पत्रकारितालाई अभिव्यक्ति स्वतन्त्रताको संरक्षित क्षेत्रका रूपमा स्वीकार गर्दै पत्रकारको सूचना स्रोतको गोपनीयताको सम्मानमा समेत जोड दिएको छ।

शान्ति समाजले श्रेष्ठलाई शीघ्र रिहा गर्न, सञ्चारमाध्यममाथिको हस्तक्षेप रोक्न र प्रेस तथा अभिवयक्ति स्वतन्त्रताको संवैधानिक एवं अन्तर्राष्ट्रिय प्रतिबद्धता पालना गर्न सरकारसँग आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button