रुकुम पश्चिमका नदीमा तीन वर्षमा १९ जनाको मृत्यु, एक अझै बेपत्ता

ड्रागन मिडिया सम्वाददाता
रुकुम पश्चिमका सानीभेरी र ठुलीभेरी नदीमा पछिल्ला तीन वर्ष तथा चालु अवधिमा विभिन्न दुर्घटनामा कम्तीमा १९ जनाले ज्यान गुमाएका छन्। माछा मार्ने, दाउरा निकाल्ने, गिट्टी–बालुवा सङ्कलन गर्ने, नदी तर्ने तथा पौडी खेल्ने क्रममा वर्षेनी मानवीय क्षति हुँदै आएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको उपलब्ध तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ मा दुवै नदीमा डुबेर वा बगेर पाँच जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०८१/०८२ मा छ र २०८२/०८३ मा सात जनाले ज्यान गुमाएका थिए।
पछिल्लो एक सातामा पनि सानीभेरी नदीमा दुईवटा घटना भएका छन्। मुसिकोट नगरपालिका–१० का देव वली माछा मार्न जाल खेल्ने क्रममा नदीले बगाएर बेपत्ता भएका थिए। उनको शव चार दिनपछि मंगलबार फेला परेको थियो।
सानीभेरी गाउँपालिका–१ का प्रेम रोकाय भने नदीबाट दाउरा निकाल्ने क्रममा डुबेर बेपत्ता भएका छन्। उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नदीमा हुने अधिकांश दुर्घटनामा आधारभूत सुरक्षा सावधानी नअपनाएको देखिएको छ। जिल्लाका धेरै ठाउँमा झोलुङ्गे पुल निर्माण भइसकेकाले आवतजावतका लागि नदीमै पस्नुपर्ने बाध्यता घटे पनि माछा मार्ने, दाउरा निकाल्ने तथा अन्य प्रयोजनका क्रममा असावधानीपूर्वक नदीमा प्रवेश गर्दा दुर्घटना भइरहेको उनले बताए।
प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जिल्ला विपद व्यवस्थापन समिति खोज तथा उद्धारमा सक्रिय रहेको बताए। नदीजन्य दुर्घटनामा तत्काल परिचालन गर्न जिल्लामा डुङ्गा उपलब्ध भए पनि प्रभावकारी उद्धारका लागि थप उपकरण र दक्ष जनशक्ति आवश्यक रहेको उनको भनाइ छ।
मनसुनका बेला नदीको बहाव तीव्र र अनिश्चित हुने भएकाले माछा मार्ने, दाउरा तथा नदीजन्य सामग्री निकाल्ने, पौडी खेल्ने वा अन्य प्रयोजनका लागि नदीमा प्रवेश गर्दा विशेष सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।





