१८ भाद्र २०८३, बिहीबार

किशोर श्रेष्ठलाई तत्काल निःशर्त रिहा गर्न नेपाल मिडिया सोसाइटीको माग

ड्रागन मिडिया सम्वाददाता

नेपाल मिडिया सोसाइटीले जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न माग गरेको छ।

सोसाइटीले प्रकाशित समाचारका सम्बन्धमा कुनै कानुनी प्रश्न, गुनासो वा आपत्ति भए प्रचलित कानुन र प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

सोसाइटीका महासचिव बोधराज त्रिपाठीद्वारा जारी विज्ञप्तिमा समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा पत्रकारले प्रकाशित गरेको समाचारप्रति कुनै गुनासो वा आपत्ति भए प्रचलित कानुन तथा प्रेस काउन्सिल नेपालबाट स्थापित प्रक्रियामार्फत समाधान खोजिनुपर्नेमा जोड दिइएको छ।

नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र पत्रकारिताको अधिकार लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ भएको उल्लेख गर्दै सोसाइटीले समाचार प्रकाशनकै कारण पत्रकारलाई त्रसित बनाउने वा स्वतन्त्र पत्रकारिताको वातावरणमा नकारात्मक प्रभाव पार्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोसाइटीले पत्रकार तथा सञ्चारमाध्यमले प्रचलित कानुनको पालना गर्नुपर्ने विषयमा आफू स्पष्ट रहेको पनि जनाएको छ। तर पत्रकारिता तथा प्रकाशित समाचारसँग सम्बन्धित विषयमा कानुनी उपचार खोज्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक मूल्य, पत्रकारको व्यावसायिक अधिकार र प्रेससम्बन्धी स्थापित मान्यताको पूर्ण सम्मान हुनुपर्ने उसको धारणा छ।

स्वतन्त्र पत्रकारितामाथि हुने कुनै पनि प्रकारको दबाब, हस्तक्षेप वा दमनप्रति आफू सदैव सचेत र खबरदारीमा रहने सोसाइटीले जनाएको छ।

नेपाल प्रहरीले बुधबार साँझ श्रेष्ठलाई ललितपुरबाट पक्राउ गरेको थियो। प्रहरीले उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको जनाएको छ।

बिहीबार बिहान प्रहरी टोलीले जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको छ।

नेपाल पत्रकार महासंघले पनि श्रेष्ठको पक्राउ तथा जनआस्थाको कार्यालयमा गरिएको प्रहरी कारवाहीको विरोध गरेको छ। महासंघले समाचारसँग सम्बन्धित विवादलाई प्रेससम्बन्धी स्थापित कानुनी संयन्त्रमार्फत समाधान गर्नुपर्ने भन्दै श्रेष्ठलाई निःशर्त रिहा गर्न माग गरेको छ।

श्रेष्ठको रिहाइको माग गर्दै महासंघको अगुवाइमा पत्रकारहरूले बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालयअगाडि प्रदर्शन तथा धर्नासमेत दिएका छन्।

श्रेष्ठको गिरफ्तारी र सञ्चारमाध्यमको कार्यालयमा गरिएको खानतलासीपछि घटना प्रेस स्वतन्त्रता, वैयक्तिक गोपनीयताको कानुनी संरक्षण र समाचार सामग्रीमाथि राज्यको अनुसन्धानको सीमासम्बन्धी व्यापक बहसको विषय बनेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button