सुदूरपश्चिमका मुख्यमन्त्री शाह आज विश्वासको मत लिँदै

ड्रागन मिडिया सम्वाददाता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। विश्वासको मत प्रयोजनका लागि प्रदेशसभा बैठक अपराह्न ५ बजे बोलाइएको छ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीका अनुसार बैठकमा मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्। लामो समयदेखि प्रदेशसभा बैठकमा अनुपस्थित रहेका सदस्यका विषयमा पनि छलफल हुने बताइएको छ।
सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले गत असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए। सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने वा पदबाट राजीनामा दिनुपर्ने हुन्छ।
मुख्यमन्त्री शाहले बुधबार सभामुख भीमबहादुर भण्डारीलाई विश्वासको मत लिने जानकारी गराउँदै प्रदेशसभा बैठक आह्वानका लागि पत्र पठाएका थिए।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हाल नेपाली कांग्रेसका १८, नेपाली कम्युनिष्ट पार्टीका सभामुखसहित २२, नेकपा एमालेका ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सदस्य छन् भने एक स्थान रिक्त छ। सरकार कायम राख्न मुख्यमन्त्री शाहलाई कम्तीमा २७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक छ।
प्रदेशसभा सचिवालयका अनुसार हाल एक सदस्य देशबाहिर छन् भने अर्का एक सदस्य निलम्बनमा छन्। एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा कांग्रेसका १८ मत मात्रबाट बहुमत नपुग्ने भएकाले शाहको सरकार कायम रहने वा नयाँ सरकार गठनको बाटो खुल्ने भन्ने विषय बिहीबारको विश्वासको मतले निर्धारण गर्नेछ।





