१८ भाद्र २०८३, बिहीबार

करिब छ महिनामा स्वदेश फर्किँदै देउवा, विमानस्थलमा स्वागतको तयारी

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब छ महिनामा बिहीबार स्वदेश फर्किँदै छन्। उनको स्वागतका लागि कांग्रेसको संस्थापन इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास तीन स्थानमा नेता तथा कार्यकर्ता भेला गर्ने तयारी गरेको छ।

स्वागतका लागि विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटअगाडिको खाली ठाउँ, नमस्ते गेटअगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पतालअगाडिको क्षेत्रलाई भेला स्थल तोकिएको छ।

देउवा बिहीबार मध्याह्न करिब साढे १२ बजे काठमाडौं अवतरण गर्ने कार्यक्रम छ। उनको स्वागतका लागि राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा कांग्रेसका शीर्ष नेताहरू विमानस्थल पुग्ने तयारीमा छन्।

कांग्रेसको संस्थापन इतर समूहले देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ। विमानस्थलबाट बाहिरिएपछि नेता तथा कार्यकर्ताले सांस्कृतिक बाजागाजासहित उनलाई साथ दिँदै लैजाने कार्यक्रम रहेको छ।

देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने संस्थापन इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ। कांग्रेसभित्र विकसित पछिल्लो आन्तरिक राजनीतिक परिस्थितिका बीच हुन लागेको उक्त भेलामा उनको सहभागितालाई महत्वका साथ हेरिएको छ।

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका देउवा फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए। स्वास्थ्य उपचारका क्रममा उनी पछि सिंगापुरबाट हङकङ पुगेका थिए।

करिब छ महिनाको विदेश बसाइपछि देउवाको स्वदेश फिर्तीसँगै कांग्रेसको आन्तरिक राजनीतिमा उनको आगामी भूमिका र संस्थापन इतर समूहको भावी रणनीतिप्रति पनि चासो बढेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button