१७ भाद्र २०८३, बुधबार

स्वर्गद्वारीका विभिन्न खोला किनारमा पाँच जनाको शव फेला, पहिचान खुल्न बाँकी

ड्रागन मिडिया सम्वाददाता

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा रहेका माडी र लुङ्ग्री खोलाको किनारमा बिहीबार बिहान पाँच जनाको शव फेला परेको छ। फेला परेका कुनै पनि शवको पहिचान खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार बिहीबार बिहान करिब साढे ७ बजेदेखि विभिन्न स्थानमा शव फेला परेका हुन्।

स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोला किनारमा करिब १२ देखि १३ वर्ष उमेरका बालकको शव भेटिएको छ। वडा नं. ३ किमिचौरस्थित माडी खोला किनारमा भने पुरुषको कम्मरभन्दा माथिको भाग मात्र फेला परेको प्रहरीले जनाएको छ।

यसैगरी, स्वर्गद्वारी–४ गोठीबाङस्थित माडी खोला किनारमा एक महिलाको शव फेला परेको छ।

स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा थप दुई महिलाको शव भेटिएको प्रहरीले जनाएको छ। तीमध्ये एक महिलाको बायाँ खुट्टाको घुँडाभन्दा तलको भाग नभएको अवस्थामा शव फेला परेको छ।

फेला परेका शवहरू एउटै घटनासँग सम्बन्धित हुन् वा फरक घटनाका हुन् भन्नेबारे प्रहरीले अहिलेसम्म कुनै निष्कर्ष सार्वजनिक गरेको छैन। घटनाको प्रकृति र मृतकहरूको पहिचान खुलाउन थप अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानले पछिल्लो समय परिवारका कुनै सदस्य हराइरहेको भए शव पहिचानमा सहयोग गर्न कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button