पुटिनद्वारा पहिलोपटक कुरिल द्वीपसमूहको प्रत्यक्ष भ्रमण

ड्रागन मिडिया समाचार कक्ष
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलोपटक कुरिल द्वीपसमूहको प्रत्यक्ष भ्रमण गरेका छन्। साइबेरिया तथा सुदूरपूर्व क्षेत्रको कार्य भ्रमणलाई निरन्तरता दिँदै पुटिन इटुरुप टापु पुगेका हुन्।
इटुरुपमा उनले ‘यास्नी’ माछा प्रशोधन केन्द्रको निरीक्षणसमेत गरे। रुसी नेतृत्व तहबाट यसअघि पनि कुरिल द्वीपसमूहको भ्रमण भएको थियो, तर राष्ट्रपतिका रूपमा पुटिनको यो पहिलो प्रत्यक्ष भ्रमण हो।
भ्रमणपछि जापानले रुससमक्ष विरोध जनाएको छ। कुरिल द्वीपसमूहका दक्षिणी टापुको सार्वभौमिकतालाई लिएर रुस र जापानबीच लामो समयदेखि विवाद रहँदै आएको छ।





