एआई र प्रविधिको दुरुपयोग गरी भ्रामक सामग्री नबनाउन साइबर ब्युरोको चेतावनी

ड्रागन मिडिया सम्वाददाता
नेपाल प्रहरीको साइबर ब्युरोले कृत्रिम बुद्धिमत्ता (एआई) तथा अन्य प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल र डिजिटल माध्यममा नक्कली, भ्रामक तथा चरित्रहत्या गर्ने सामग्री सिर्जना र प्रसारण नगर्न सार्वजनिक चेतावनी दिएको छ।
ब्युरोले बिहीबार सार्वजनिक सचेतना जारी गर्दै पछिल्लो समय एआई प्रविधिको दुरुपयोग गरी विभिन्न व्यक्ति तथा संघसंस्थाका कृत्रिम फोटो तथा भिडियो बनाउने, भ्रामक सूचना प्रकाशन गर्ने, चरित्रहत्या गर्ने, अश्लील सामग्री तथा अभिव्यक्ति सम्प्रेषण गर्ने र आम जनमानसमा त्रास तथा अविश्वास सिर्जना गर्ने गतिविधि बढेको जनाएको छ।
यस्ता गतिविधि नैतिक रूपमा गलत हुनुका साथै कानुनी रूपमा समेत दण्डनीय रहेको ब्युरोले स्पष्ट पारेको छ।
प्रविधिको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्ने तथा कुनै व्यक्ति वा संघसंस्थाको चरित्रहत्या गर्ने कार्यमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कडा कारवाही हुन सक्ने ब्युरोले चेतावनी दिएको छ।
साइबर ब्युरोले अनलाइन माध्यममा देखिने हरेक दृश्य वा सामग्रीलाई तत्काल विश्वास नगर्न र आधिकारिक जानकारीका लागि विश्वसनीय तथा आधिकारिक श्रोतबाट मात्र सूचना लिन सर्वसाधारणलाई आग्रह गरेको छ।
साइबर ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीद्वारा जारी विज्ञप्तिमा एआई तथा डिजिटल प्रविधिको जिम्मेवार प्रयोगमा विशेष सजगता अपनाउन समेत अनुरोध गरिएको छ।





