शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ : देउवा

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू राजनीतिक शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न र देशको सेवामा समर्पित हुन स्वदेश फर्किएको बताएका छन्।
करिब पाँच महिनाको स्वास्थ्य उपचारपछि बिहीबार स्वदेश फर्किएका देउवाले साउन २८ गते जारी गरेको दुई पृष्ठ लामो सार्वजनिक अपिलमार्फत राष्ट्रिय राजनीति, युवा पुस्ताको परिवर्तनको आकांक्षा, वर्तमान सरकारको जिम्मेवारी, नेपाली कांग्रेसको आन्तरिक एकता र भावी राजनीतिक भूमिकाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
स्वास्थ्य लाभको कामना गर्दै चासो, चिन्ता र सद्भाव व्यक्त गर्ने सबैप्रति आभार प्रकट गर्दै देउवाले आफू “सुन्न, सिक्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन” विनम्र सेवकका रूपमा स्वदेश फर्किएको बताएका छन्।
देउवाले नेपाली कांग्रेसको लोकतान्त्रिक इतिहासलाई कुनै एक व्यक्ति वा समूहको सम्पत्तिका रूपमा नभई जनताको विश्वासबाट प्राप्त जिम्मेवारीका रूपमा व्याख्या गरेका छन्। बीपी कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायत नेताको योगदान स्मरण गर्दै उनले लोकतन्त्र, स्वतन्त्रता र विकासका लागि भएका संघर्षलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु कांग्रेसको दायित्व भएको बताएका छन्।
अपिलमा देउवाले विशेष महत्वका साथ युवा पुस्ताको आवाजलाई सम्बोधन गरेका छन्। बदलिएको विश्वसँगै नेपाली कांग्रेसले पनि युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई समाजका सबै वर्ग, समुदाय र क्षेत्रमा सार्थक सहभागिता सुनिश्चित गर्ने प्रक्रियाको नेतृत्व गर्नुपर्ने बताएका छन्।
गत भदौमा भएको जेनजी आन्दोलनको जायज माग सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको स्मरण गर्दै देउवाले परिवर्तन अपरिहार्य रहेको बताएका छन्। तर नयाँ पुस्ता अगाडि बढ्नुको अर्थ पुरानो पुस्ताको योगदान र अनुभवलाई पूर्ण रूपमा अस्वीकार गर्नु नभएको उनको भनाइ छ।
उनले आफ्नो पुस्ताले लोकतन्त्र, स्वतन्त्रता र विभिन्न जातजाति, क्षेत्र तथा समुदायको अधिकारका लागि लामो संघर्ष गरेको उल्लेख गर्दै विगतका ऐतिहासिक योगदानलाई नकारात्मकताले ढाक्नु उचित नहुने बताएका छन्। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा सिर्जनशीलताबीच सहकार्य आवश्यक रहेको उनको सन्देश छ।
देउवाले वर्तमान सरकारप्रति पनि स्पष्ट धारणा राखेका छन्। जनतामा ठूलो परिवर्तनको अपेक्षा रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्नु वर्तमान सरकारको जिम्मेवारी भएको बताएका छन्। राजनीतिक आग्रह र पूर्वाग्रहमा अल्झिएर सरकार आफ्नो दायित्वबाट विमुख हुन नहुने उनको भनाइ छ।
ताजा जनमतबाट सत्तामा पुगेको दलले जनताको मतको सम्मान गर्नुपर्ने उल्लेख गर्दै उनले लोकतन्त्रमा जनता नै सर्वोच्च हुने सत्य कसैले बदल्न नसक्ने बताएका छन्। कांग्रेस परिवर्तन व्यवस्थापनको प्रक्रियामा सहयोग गर्न तयार रहेको जनाउँदै देउवाले विवेक, पारदर्शिता र न्यायका आधारमा हुने रूपान्तरणमा आफ्नो पार्टीको सहयोग रहने बताएका छन्।
अपिलको अर्को महत्वपूर्ण पक्ष कांग्रेसको आन्तरिक एकता हो। देउवाले नेपाली कांग्रेस आफैँ एकताबद्ध भएर देशका अन्य क्रियाशील राजनीतिक दलसँग सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्ने बताएका छन्। संविधान लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि भएकाले यसको संरक्षण गर्नुपर्ने र आवश्यक संशोधन पनि राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने उनको धारणा छ।
कांग्रेसभित्र पछिल्लो समय देखिएको असहमति र निराशाको समाधान खोज्नुपर्ने उल्लेख गर्दै देउवाले पार्टी कसैको निजी स्वामित्व नभई जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्ने संस्था हुनुपर्ने बताएका छन्। उनले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक र मतदातालाई सामूहिकतामा विश्वास गर्दै त्याग, बलिदान र संघर्षको मूल्य स्वीकारेर अघि बढ्न आग्रह गरेका छन्।
युवा पुस्ता अघि बढ्नुपर्नेमा आफू स्पष्ट रहेको तर अनुभवी पुस्ता सबै खराब हुन् भन्ने भाष्य गलत हुने देउवाको भनाइ छ। आफ्नो विगतको राजनीतिक अनुभव पार्टीले लिन सक्ने र त्यो अनुभव नयाँ पुस्तासँग साझा गर्नु आफ्नो दायित्व भएको उनले बताएका छन्।
पार्टीका साथीहरूमा देखिएको निराशा हटाउँदै मनोबल बढाउन र पार्टीभित्रका विभिन्न भावनालाई पुनः जोड्नुपर्ने समय आएको भन्दै देउवाले त्यसका लागि सम्पूर्ण नेता तथा कार्यकर्तालाई सक्रिय हुन अपिल गरेका छन्।
देउवाले बीपी कोइरालाले २०३३ सालमा भारत निर्वासनबाट स्वदेश फर्कँदा राष्ट्रिय तथा प्रजातान्त्रिक शक्तिबीच एकताको आह्वान गरेको प्रसंगसमेत स्मरण गरेका छन्। करिब पाँच दशकपछि फेरि सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको उनको निष्कर्ष छ।
“म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु,” भन्ने सन्देशसहित देउवाले विगतका विभाजन र द्वेषका घाउ निको पार्दै प्रतिशोधको सट्टा मेलमिलापको बाटो रोज्न आह्वान गरेका छन्।
सार्वजनिक पदमा रहँदा आलोचना र प्रत्यालोचना स्वाभाविक भएको उल्लेख गर्दै उनले आफ्नो जीवन राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानेर बिताएको दाबी गरेका छन्। कानुन र नीतिविपरीत कुनै काम नगरेको बताउँदै उनले राष्ट्र, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हित, संविधान, कानुन र नैतिक मूल्यमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
अन्त्यमा देउवाले आफू नेता बनेर होइन, देशको आजीवन नागरिकका रूपमा स्वदेश फर्किएको उल्लेख गर्दै विनम्रता, समर्पण र प्रेमका साथ राष्ट्रको सेवा गर्न तत्पर रहेको बताएका छन्।





