कांग्रेसको वैधानिक सभापति देउवा नै रहेको शशांक कोइरालाको दाबी

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन्। उनले कांग्रेसलाई पुनः एकताबद्ध बनाउन देउवा नेतृत्वमा अघि बढ्नुपर्ने बताएका छन्।
बिहीबार देउवाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै सभापतिको जिम्मेवारीका विषयमा देउवाविरुद्ध कुनै ‘स्टे अर्डर’ नरहेको तर्क गरे।
“देउवा पार्टीको सभापति नै हो। अहिले पनि नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा नै हो। उहाँ नै सभापति हो,” कोइरालाले भने।
उनले कांग्रेसभित्र देखिएको विभाजन अन्त्य गरी सबै पक्षलाई पुनः एउटै संरचनाभित्र ल्याउनुपर्नेमा जोड दिए। पार्टी एक बनाउने प्रयास आफूहरूको निरन्तर रहने उनको भनाइ थियो।
विशेष महाधिवेशनबाट नेतृत्वमा आएको गगनकुमार थापा पक्षलाई लक्षित गर्दै कोइरालाले सानेपास्थित समूह कांग्रेसको मूल धारबाट अलग भएको आशय व्यक्त गरे। “सानेपा कांग्रेस छुट्टिएर गएको छ, उनीहरू आउनुपर्ने हो। उनीहरूले अनादर गर्छन्, के गर्छन् उनीहरूको कुरा हो,” उनले भने।
यद्यपि कांग्रेसको आधिकारिक नेतृत्वसम्बन्धी विषय अहिले पुनः सर्वोच्च अदालतको न्यायिक परीक्षणमा छ।
विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वमा आएको केन्द्रीय समितिलाई निर्वाचन आयोगले मान्यता दिएको थियो। त्यसविरुद्ध देउवा पक्ष सर्वोच्च अदालत पुगे पनि अदालतले गत वैशाखमा निर्वाचन आयोगको निर्णय सदर गर्दै थापा नेतृत्वलाई वैधानिकता दिएको थियो।
देउवा पक्षले उक्त फैसला पुनरावलोकन गर्न माग गरेपछि सर्वोच्च अदालतले साउनमा पुनरावलोकनको अनुमति दिएको छ। पुनरावलोकनको अनुमति दिएसँगै कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद पुनः न्यायिक परीक्षणमा प्रवेश गरेको छ। तर अदालतले यसअघि थापा नेतृत्वलाई मान्यता दिने फैसलाको कार्यान्वयन रोक्ने पृथक अन्तरिम आदेश दिएको विवरण सार्वजनिक भएको छैन।
यही कानुनी अवस्थालाई आधार बनाउँदै कोइरालाले देउवाको नेतृत्व समाप्त भएको मान्न नसकिने तर्क गरेका हुन्। तर थापा पक्षले भने निर्वाचन आयोगको निर्णय र सर्वोच्च अदालतको यसअघिको फैसलाका आधारमा आफूहरू नै कांग्रेसको आधिकारिक नेतृत्व रहेको बताउँदै आएको छ।
कोइरालाले पार्टीभित्रको विवादलाई थप गहिरो बनाउनुको सट्टा सबै पक्षलाई एक ठाउँमा ल्याउनुपर्ने बताए। उनले व्यक्तिगत विवादभन्दा पार्टीको एकता महत्वपूर्ण भएको उल्लेख गर्दै कांग्रेसलाई पुनः एकढिक्का बनाउने प्रयास जारी रहने स्पष्ट पारे।
देउवा करिब पाँच महिनाको उपचार तथा विदेश बसाइपछि बिहीबार स्वदेश फर्किएका हुन्। उनको आगमनसँगै विशेष महाधिवेशनपछि विभाजित अवस्थामा रहेको कांग्रेसभित्र नेतृत्वको आधिकारिकता, आन्तरिक एकता र भावी संगठनात्मक दिशाबारे बहस पुनः तीव्र बनेको छ।





