१८ भाद्र २०८३, बिहीबार

किशोर श्रेष्ठ पक्राउ र जनआस्था कार्यालयमा प्रहरी कारवाहीप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

ड्रागन मिडिया सम्वाददाता

प्रेस काउन्सिल नेपालले जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको र जनआस्थाको कार्यालयमा प्रहरीले खानतलासी गरी कम्प्युटरलगायत सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा बिहीबार जारी विज्ञप्तिमा श्रेष्ठलाई बुधबार राति पक्राउ गरिएको, उनको निजी निवासमा खानतलासी गरिएको तथा बिहीबार बिहान जनआस्थाको कार्यालयमा प्रहरी प्रवेश गरी सामग्री नियन्त्रणमा लिएको उल्लेख गरिएको छ।

काउन्सिलले समाचार सामग्रीसँग सम्बन्धित कुनै गुनासो वा आपत्ति भए प्रेससम्बन्धी स्थापित प्रक्रिया र प्रचलित कानुनअनुसार समाधान खोजिनुपर्नेमा जोड दिएको छ। प्रकाशित समाचारको सत्यता, पत्रकार आचारसंहिताको पालना तथा सञ्चारमाध्यमको व्यावसायिक आचरणसम्बन्धी उजुरी हेर्ने वैधानिक जिम्मेवारी प्रेस काउन्सिल नेपालको रहेको पनि उसले स्मरण गराएको छ।

समाचार प्रकाशनसँग जोडिएको विषयमा पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी कारवाही भएपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र राज्यका विभिन्न निकायको अधिकार क्षेत्रसम्बन्धी प्रश्न उठेको काउन्सिलको संकेत छ।

काउन्सिलले नागरिकको सूचनाको हकको प्रत्याभूतिका लागि स्वतन्त्र प्रेसको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्रेसको मर्यादा र स्वतन्त्रता कायम राख्नु सबै पक्षको जिम्मेवारी भएको जनाएको छ।

सञ्चारमाध्यमबाट प्रकाशित सामग्रीमाथि प्रश्न उठ्दा त्यसको निरुपणका लागि उपलब्ध संस्थागत संयन्त्रको सम्मान हुनुपर्ने काउन्सिलको धारणा छ। पत्रकारिता र समाचार सामग्रीसँग प्रत्यक्ष सम्बन्धित विषयमा कानुनी प्रक्रिया अघि बढाउँदा प्रेस स्वतन्त्रताको संवैधानिक प्रत्याभूति र सञ्चार क्षेत्रका स्थापित मान्यताप्रति संवेदनशील हुनुपर्नेमा उसले जोड दिएको छ।

नेपाल प्रहरीले श्रेष्ठलाई बुधबार साँझ ललितपुरबाट पक्राउ गरेको थियो। प्रहरीले उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुरको आरोपमा अनुसन्धान भइरहेको जनाएको छ।

बिहीबार बिहान प्रहरीले जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको थियो। काउन्सिलको विज्ञप्तिअनुसार प्रहरी टोलीले कार्यालयबाट कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिएको छ।

श्रेष्ठको पक्राउपछि नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटीलगायत सञ्चार क्षेत्रका विभिन्न संस्थाले विरोध जनाउँदै समाचार सामग्रीसम्बन्धी विवादलाई स्थापित कानुनी तथा प्रेससम्बन्धी संयन्त्रबाट समाधान गर्नुपर्ने बताएका छन्।

पत्रकार महासंघको अगुवाइमा पत्रकारहरूले बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंअगाडि प्रदर्शन र धर्नासमेत दिएका छन्। श्रेष्ठको पक्राउ र जनआस्था कार्यालयमा भएको प्रहरी कारवाहीसँगै प्रेस स्वतन्त्रता, वैयक्तिक गोपनीयताको अधिकार र पत्रकारितासँग सम्बन्धित विषयमा फौजदारी अनुसन्धानको सीमाबारे बहस थप तीव्र बनेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button