१८ भाद्र २०८३, बिहीबार

सिचाङको नाम्लिङमा उजाड नदीकिनार हरियालीमा रूपान्तरण, एक दशकको वनरोपणले फेरियो भू-दृश्य

ड्रागन मिडिया समाचार कक्ष

चीनको सिचाङ स्वायत्त प्रदेशस्थित नाम्लिङ काउन्टीमा यार्लुङ जाङ्बो नदीको उत्तरी किनारमा रहेको वर्षौँ पुरानो बालुवा र ढुंगाले भरिएको उजाड भूभाग एक दशकभन्दा लामो वनरोपण तथा मरुभूमीकरण नियन्त्रणपछि हरियाली क्षेत्रमा रूपान्तरण भएको छ।

सिन्ह्वाका अनुसार सन् २०१४ देखि २०२५ सम्म सञ्चालित पर्यावरणीय पुनर्स्थापना परियोजनामा कुल ५३ करोड ८० लाख युआन लगानी गरिएको छ। यस अवधिमा १ लाख २०० मु, अर्थात करिब ६ हजार ६८० हेक्टर क्षेत्रमा कृत्रिम वनरोपण गरिएको छ।

नाम्लिङको एइमा टाउनसिप समुद्री सतहबाट चार हजार मिटरभन्दा बढी उचाइमा पर्छ। विगतमा तीव्र हावासँगै उड्ने बालुवाले खेतीयोग्य जमिन र बस्तीलाई नियमित रूपमा प्रभावित गर्ने गरेको थियो। स्थानीय बासिन्दाका अनुसार वन क्षेत्र विस्तार भएपछि हावासँगै आउने बालुवा र धुलो उल्लेख्य रूपमा नियन्त्रणमा आएको छ।

सन् २००८ देखि शान्दोङ प्रान्तको वेइफाङबाट सिचाङ सहयोग कार्यक्रमअन्तर्गत आएका प्राविधिक तथा अधिकारीहरूले क्षेत्रमा पर्यावरणीय पुनर्स्थापनासम्बन्धी अध्ययन शुरु गरेका थिए। सन् २०१४ मा उक्त क्षेत्र सिचाङको प्रमुख नदी प्रणाली आसपास वनरोपण गर्ने कार्यक्रमअन्तर्गत नमुना परियोजनाका रूपमा समावेश भएपछि ठूलो स्तरमा काम अघि बढाइएको थियो।

उच्च भूभाग, चिसो र सुख्खा वातावरण तथा बलौटे जमिनका कारण वनस्पति हुर्काउन कठिन मानिने क्षेत्रमा स्थानीय हावापानीअनुकूल समुद्री बकथर्न र सिचाङ तथा सिचुवान क्षेत्रमा पाइने पोप्लरलगायत खडेरी सहन सक्ने प्रजातिलाई प्राथमिकता दिइएको छ। बाहिरबाट ल्याइएका प्रजातिलाई समेत स्थानीय वातावरणमा अनुकूल बनाएपछि मात्र रोपिएको बताइएको छ।

परियोजनाअन्तर्गत रोपिएका बिरुवाको संरक्षण दर करिब ९२ प्रतिशत कायम रहेको छ। वन क्षेत्रमा पानी पुर्‍याउन यार्लुङ जाङ्बो नदीबाट करिब १०० किलोमिटर लामो छुट्टै सिँचाइ नहरसमेत निर्माण गरिएको छ।

एक दशकभन्दा बढी अवधिमा नाम्लिङ क्षेत्रमा करिब ४८ हजार मु जमिनमा बालुवा नियन्त्रण, १ लाख ४७ हजार २०० मु क्षेत्रमा हवाई बीउ छर्ने माध्यमबाट वन विस्तार र १ लाख १७ हजार ४०० मु क्षेत्रमा प्राकृतिक वन पुनर्जीवनका लागि संरक्षण कार्यक्रम सञ्चालन गरिएको छ। यस अवधिमा ५० लाखभन्दा बढी बिरुवा रोपिएको जनाइएको छ।

हरित पेटी विस्तारसँगै नदीको उत्तरी किनार आसपासका करिब २० हजार मु खेतीयोग्य जमिन हावाबाट उड्ने बालुवाको जोखिमबाट संरक्षण भएको छ भने करिब पाँच हजार मु उजाड नदीकिनारलाई खेतीयोग्य जमिनमा रूपान्तरण गरिएको छ। स्थानीय एइमा आलु र जौको उत्पादनमा समेत क्रमशः सुधार आएको स्थानीय अधिकारीहरूले बताएका छन्।

पर्यावरणीय परियोजनाले स्थानीय रोजगारीमा पनि योगदान पुर्‍याएको छ। परियोजनामा आठ हजारभन्दा बढी पटक स्थानीय श्रमिक परिचालन गरिएको र किसान तथा पशुपालकको आम्दानीमा कुल चार करोड ५० लाख युआनभन्दा बढी वृद्धि भएको जनाइएको छ। ६० जनाभन्दा बढी स्थानीय बासिन्दाले वन संरक्षकका रूपमा नियमित रोजगारी पाएका छन्।

वन क्षेत्रलाई डढेलो, पशुबाट हुने क्षति तथा रोगकीराबाट जोगाउन विशेष संरक्षण टोलीसमेत परिचालन गरिएको छ।

नाम्लिङका अधिकारीहरूले अब वनरोपणमा मात्र सीमित नरही बालुवा नियन्त्रण, कार्बन सञ्चिति र स्थानीय आम्दानीलाई एउटै पर्यावरणीय योजनासँग जोड्ने रणनीति अघि बढाइएको बताएका छन्। करिब ३१ हजार २०० मु वन क्षेत्रको प्रारम्भिक कार्बन सञ्चिति मूल्याङ्कनसमेत पूरा गरिएको छ।

भविष्यमा कार्बन व्यापार, आर्थिक महत्वका वनस्पति तथा वनमा आधारित विशेष उत्पादन विस्तार गर्दै पर्यावरणीय संरक्षणलाई स्थानीय आयआर्जनसँग थप जोड्ने योजना बनाइएको छ।

दशकअघि बालुवा उड्ने उजाड नदीकिनारका रूपमा चिनिएको नाम्लिङको यो क्षेत्र अहिले उच्च हिमाली भूभागमा मरुभूमीकरण नियन्त्रण, वन पुनर्स्थापना र स्थानीय जीविकोपार्जनलाई एकसाथ अघि बढाउन सकिने उदाहरणका रूपमा विकसित भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button