१८ भाद्र २०८३, बिहीबार

सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था तत्काल परिवर्तन नहुने : सरकार

ड्रागन मिडिया सम्वाददाता

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्था तत्काल पुनरवलोकन वा परिवर्तन गर्ने तयारी नरहेको स्पष्ट पारेको छ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले अन्तर्राष्ट्रिय अभ्यास, इन्धन खपत, प्रशासनिक खर्च, कर्मचारीको कार्यक्षमता र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर दुई दिन बिदाको व्यवस्था लागू गरिएको बताइन्।

बैठकमा राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले सातामा दुई दिन बिदा दिने निर्णय प्रभावकारी हुन नसकेको भन्दै पुनरवलोकन गर्न सरकारसँग माग गरेका थिए। उनले यसबाट शिक्षा, व्यापार, सरकारी सेवा प्रवाहलगायत क्षेत्रमा असर परेको तर्क गर्दै पुनः सातामा एक दिन मात्रै सार्वजनिक बिदा दिने व्यवस्थामा फर्किनुपर्ने बताएका थिए।

जवाफमा मन्त्री गौतमले तत्कालीन समयमा पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता र इन्धन खपत घटाउने आवश्यकतालाई समेत ध्यानमा राखेर २०८२ चैत २३ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयनमा ल्याइएको बताइन्।

दुई दिन बिदासँगै सरकारी कार्यालयको दैनिक कार्यसमय बढाएर बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ।

मन्त्री गौतमका अनुसार नयाँ व्यवस्थाको उद्देश्य कर्मचारीको काम र निजी जीवनबीच सन्तुलन कायम गर्नु, ऊर्जा तथा प्रशासनिक खर्चमा मितव्ययिता ल्याउनु, सरकारी कामलाई थप परिणाममुखी बनाउनु र आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्नु हो।

“कर्मचारीको कार्य जीवन सन्तुलन मिलाउन, ऊर्जा तथा प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न र आन्तरिक पर्यटन प्रवर्द्धन गरी आर्थिक गतिविधि चलायमान बनाउन यो व्यवस्था प्रभावकारी देखिएको छ,” उनले भनिन्।

सरकारले बिहान ९ बजेदेखि नै कार्यालय खुल्ने व्यवस्थाले सेवाग्राहीलाई थप समय उपलब्ध भएको र कर्मचारीको मनोबल तथा कार्यक्षमतामा पनि सकारात्मक प्रभाव परेको दाबी गरेको छ।

मन्त्री गौतमले दुई दिनको बिदाले आन्तरिक भ्रमणको अवसर बढाएको र त्यसबाट स्थानीयस्तरको आर्थिक गतिविधिमा सकारात्मक योगदान पुगेको सरकारी मूल्याङ्कन रहेको बताइन्।

शिक्षा क्षेत्रमा परेको प्रभावबारे सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले विद्यार्थीको विकासलाई कक्षाकोठाको अध्ययनमा मात्र सीमित गरेर हेर्न नहुने बताइन्। सामाजिक घुलमिल, खेलकुद, पारिवारिक समय र अतिरिक्त क्रियाकलाप पनि विद्यार्थीको चौतर्फी विकासका लागि महत्वपूर्ण रहेको उनको भनाइ थियो।

दुई दिन सार्वजनिक बिदाको अभ्यासबारे सरकारले अन्तर्राष्ट्रिय अनुभवसमेत अध्ययन गरेको बताइएको छ। यसअघि गरिएको सरकारी अध्ययनले पनि धेरै देशमा पाँच कार्यदिन र दुई दिन साप्ताहिक बिदाको व्यवस्था रहेको देखाउँदै नेपालमा यस्तो अभ्यासले इन्धन तथा प्रशासनिक खर्च घटाउन, कार्यसमयलाई सघन बनाउन र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सक्ने निष्कर्ष निकालेको थियो।

यद्यपि दुई दिन बिदाको व्यवस्थालाई लिएर शिक्षा, सरकारी सेवा प्रवाह र निजी क्षेत्रको कार्यतालिकामा पर्ने प्रभावबारे सुरुदेखि नै बहस हुँदै आएको छ।

मन्त्री गौतमले हाललाई व्यवस्था परिवर्तन गर्ने विषयमा सरकारले कुनै गृहकार्य नगरेको स्पष्ट पार्दै कार्यान्वयनका क्रममा प्राप्त सुझाव र प्रतिक्रियालाई भने अध्ययन गरिने बताइन्।

सरकारको पछिल्लो जवाफसँगै तत्कालका लागि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा तथा पाँच दिन विस्तारित कार्यालय समयको व्यवस्था निरन्तर रहने स्पष्ट भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button