किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रचण्डको माग, ‘विधि नअपनाई धरपकड गर्नु लोकतन्त्रको उपहास’

ड्रागन मिडिया सम्वाददाता
नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेका छन्।
प्रचण्डले बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई पत्रकारलाई राज्यद्वारा धरपकड गर्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको बताएका हुन्।
“नेपालको स्थापित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो,” प्रचण्डले भनेका छन्।

उनले श्रेष्ठलाई तत्काल रिहा गर्नसमेत माग गरेका छन्।
प्रहरीले श्रेष्ठलाई बुधबार साँझ पक्राउ गरेको थियो। उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउपछि उनको निवास तथा जनआस्था साप्ताहिकको कार्यालयमा समेत प्रहरीले खानतलासी गरेको थियो।
श्रेष्ठको पक्राउ र सञ्चारगृहमा गरिएको प्रहरी कारवाहीपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, समाचार सामग्रीसम्बन्धी विवाद निरुपणको प्रक्रिया र पत्रकारितासँग जोडिएका विषयमा फौजदारी अनुसन्धानको सीमाबारे बहस तीव्र बनेको छ।
नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल, नेपाल मिडिया सोसाइटीलगायत सञ्चार क्षेत्रका संस्थाहरूले पनि श्रेष्ठको पक्राउप्रति आपत्ति जनाउँदै समाचार सामग्रीसम्बन्धी विवाद प्रेससम्बन्धी स्थापित कानुनी तथा संस्थागत प्रक्रियाबाट समाधान गर्नुपर्ने बताएका छन्।
प्रचण्डको पछिल्लो अभिव्यक्तिसँगै श्रेष्ठको पक्राउप्रति राजनीतिक तहबाट समेत औपचारिक विरोध शुरु भएको छ। उनले राज्यका निकायले अनुसन्धान गर्दा विधि, प्रक्रिया र लोकतान्त्रिक अधिकारको सम्मान गर्नुपर्ने सन्देश दिएका छन्।





