किशोर श्रेष्ठको निवासमा फेरि प्रहरी, ‘एउटा कोठा खानतलासी गर्न छुटेको’ भन्दै पुगेको पत्नीको भनाइ

ड्रागन मिडिया सम्वाददाता
प्रहरी हिरासतमा रहेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठको ललितपुरको नख्खुस्थित निवासमा बिहीबार साँझ फेरि प्रहरी पुगेको छ।
श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठका अनुसार अघिल्लो रात खानतलासीका क्रममा एउटा कोठा हेर्न छुटेको भन्दै प्रहरी टोली पुनः निवासमा पुगेको हो। उनले लगातारको प्रहरी उपस्थितिले परिवार त्रसित बनेको बताएकी छन्।
बुधबार साँझ श्रेष्ठलाई पक्राउ गरेपछि प्रहरीले राति नै उनको निवासमा खानतलासी गरेको थियो। त्यसक्रममा कम्प्युटर, ल्यापटपलगायत विद्युतीय सामग्री नियन्त्रणमा लिइएको परिवारले जनाएको छ।
सरस्वतीले आफू बिहीबार अदालतमा रहेका बेला घरमा रहेका छोराछोरीले फोन गरेर प्रहरी पुनः आएको जानकारी दिएको बताइन्।
“छोराछोरीहरू मात्रै घरमा छन्। प्रहरी आएर घन्टी बजाएको बजायै छ भनेर उनीहरूले मलाई फोन गरे,” सरस्वतीले भनिन्, “मैले ढोका नखोल्नु भनेको छु। हिजै रातभरि खानतलासी गरेर सबै लगिसकेपछि फेरि के लिन आएका हुन्?”
प्रहरी दोस्रोपटक निवासमा पुग्नुको औपचारिक कारणबारे तत्काल विस्तृत जानकारी सार्वजनिक भएको छैन। सरस्वतीका अनुसार प्रहरीले एउटा कोठा खानतलासी गर्न छुटेको बताएको छ।
श्रेष्ठलाई प्रहरीले बुधबार साँझ वैयक्तिक गोपनीयतासम्बन्धी कसुरको अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको थियो। पक्राउपछि उनको निवासमा राति खानतलासी गरिएको थियो भने बिहीबार बिहान जनआस्था साप्ताहिकको कार्यालयमा समेत प्रहरी टोली पुगेर कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिएको थियो।
श्रेष्ठको गिरफ्तारी र त्यसपछि निवास तथा सञ्चारगृहमा गरिएको लगातारको प्रहरी कारवाहीप्रति नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल, नेपाल मिडिया सोसाइटीलगायत सञ्चारसम्बद्ध संस्थाहरूले आपत्ति जनाएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट समेत उनको रिहाइ र प्रेस स्वतन्त्रताको सम्मान गर्न माग भइरहेको छ।
यसबीच श्रेष्ठको निवासमा पुनः प्रहरी पुगेको घटनाले परिवारमाथि परेको मनोवैज्ञानिक दबाब तथा जारी अनुसन्धानमा अपनाइएको प्रक्रियाबारे थप प्रश्न उठाएको छ।





