चीन भ्रमणअघि आङ्देम्बे र चिनियाँ राजदूत चाङबीच भेट

ड्रागन मिडिया सम्वाददाता
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको भेटमा आङ्देम्बेको शुक्रबारदेखि शुरु हुने चीन भ्रमण, नेपाल–चीन सम्बन्ध तथा द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको हो।
भेटमा चीनको ग्वाङ्झाउमा साउन ३० र ३१ गते आयोजना हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को एघारौँ एसिया क्षेत्रीय सम्मेलनका विषयमा पनि कुराकानी भएको बताइएको छ। आङ्देम्बे सम्मेलनमा सहभागी हुन चीन जान लागेका हुन्।
आङ्देम्बेले आफ्नो चीन भ्रमण सम्मेलनमा सहभागितामा मात्र सीमित नरहने बताएका छन्। भ्रमणलाई नेपाल–चीन सम्बन्धका विभिन्न आयाम बुझ्ने तथा द्विपक्षीय राजनीतिक र संसदीय सम्बन्धबारे अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा उपयोग गर्ने उनको भनाइ छ।
भ्रमणका क्रममा चिनियाँ विकास तथा शासन अभ्यासबारे जानकारी लिनुका साथै नेपाल र चीनका संसद तथा राजनीतिक दलबीचको सम्बन्ध र सहकार्यका सम्भावनाबारे पनि छलफल गर्ने उनले बताए।
प्रमुख प्रतिपक्षी दलको संसदीय नेतृत्व तहबाट हुन लागेको भ्रमणलाई नेपाल र चीनबीच सरकारस्तरको सम्बन्धसँगै राजनीतिक दल तथा संसदबीचको संवाद विस्तारका दृष्टिले समेत अर्थपूर्ण मानिएको छ।





