१८ भाद्र २०८३, बिहीबार

अमेरिकामा तीन महिनाको CEE अभ्यास पूरा गरी तीन नेपाली फेलो स्वदेश फर्किए

ड्रागन मिडिया सम्वाददाता

अमेरिकी विदेश मन्त्रालयको कम्युनिटी इन्गेजमेन्ट एक्सचेन्ज (CEE) कार्यक्रमअन्तर्गत अमेरिकामा तीन महिनाको व्यावसायिक अभ्यास पूरा गरेका नेपालका तीन जना फेलो स्वदेश फर्किएका छन्।

कार्यक्रमका क्रममा उनीहरूले विभिन्न अमेरिकी संस्थामा व्यावसायिक अभ्यास, नेतृत्व विकास प्रशिक्षण, शैक्षिक सिकाइ तथा सांस्कृतिक आदानप्रदानमा सहभागिता जनाएका थिए। उनीहरूले अमेरिकी पेशागत संस्था तथा विज्ञसँग सम्पर्क विस्तार गर्नुका साथै विभिन्न देशका उदीयमान सामुदायिक नेताहरूको अन्तर्राष्ट्रिय सञ्जालमा समेत सहभागिता जनाएका छन्।

अमेरिकी विदेश मन्त्रालयद्वारा प्रायोजित CEE कार्यक्रम IREX ले कार्यान्वयन गर्दै आएको छ। नागरिक समाज तथा समुदायमा सक्रिय युवा नेतृत्वको क्षमता विकास गर्ने उद्देश्य रहेको कार्यक्रमअन्तर्गत सहभागीलाई व्यावहारिक अनुभव, नेतृत्व प्रशिक्षण, मार्गदर्शन र अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्ने व्यवस्था छ।

CEE कार्यक्रमको महत्वपूर्ण पक्ष अमेरिकामा हुने तीन महिनाको व्यावसायिक अभ्यास हो। IREX ले सहभागीलाई उनीहरूको कार्यक्षेत्रसँग सम्बन्धित अमेरिकी नागरिक समाज संस्थासँग आबद्ध गराउँछ, जहाँ उनीहरूले प्रत्यक्ष रूपमा संस्था सञ्चालन, सामुदायिक सहभागिता र नेतृत्व अभ्यासबारे अनुभव हासिल गर्छन्।

कार्यक्रममा सहभागी फेलोले स्वदेश फर्किएपछि आफ्नो समुदायमा कार्यान्वयन गर्ने परियोजनासमेत तयार गर्छन्। नेपाल फर्किएका तीनै फेलोले अमेरिकामा हासिल गरेको ज्ञान, सीप र पेशागत सम्पर्कलाई युवा सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन तथा स्थानीय समुदायका चुनौती समाधानमा प्रयोग गर्ने योजना बनाएका छन्।

अमेरिकी दूतावासले उनीहरूको स्वदेश फिर्तीलाई नेतृत्व विकाससँगै नेपाल र अमेरिकाबीच जनस्तर तथा पेशागत सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा उल्लेख गरेको छ।

CEE कार्यक्रमले युवा नागरिक समाज तथा सामुदायिक नेतृत्वलाई अन्तर्राष्ट्रिय अनुभवसँग जोड्दै स्वदेशमै समुदायकेन्द्रित परियोजना कार्यान्वयन गर्न प्रोत्साहन गर्दै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button