१८ भाद्र २०८३, बिहीबार

‘बर्दी र फुली देखाएर धम्क्याउँदैमा सकिने विषय होइन’ : सांसद खगेन्द्र सुनार

ड्रागन मिडिया सम्वाददाता

बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा सार्वजनिक लेखा समितिका सदस्य खगेन्द्र सुनारले प्रहरीको पोशाक, रासनलगायत खरिदसँग सम्बन्धित अनियमितताको आरोप गम्भीर भएको भन्दै बर्दी र दर्जाको प्रभाव देखाएर विषय समाप्त गर्न नसकिने बताएका छन्।

सुनारले सामाजिक सञ्जालमार्फत राज्यका निकायमा एक हजार अर्ब रुपैयाँभन्दा बढी बेरुजु रहेको उल्लेख गर्दै भ्रष्टाचार, घोटाला र अनियमितताका विषयमा सार्वजनिक लेखा समितिले कठोरतापूर्वक प्रश्न उठाउनुपर्ने धारणा राखेका हुन्।

“हामीले मुख मिठ्याउँदा जनताको मुख तितो हुन्छ। हामीले तितो बोल्दा भोका, नाङ्गा र पिँधका जनताको मुख मिठो हुने दिन आउँछ भने धेरै तितो बोल्न बाँकी छ,” सुनारले लेखेका छन्।

उनले आर्थिक अनियमिततासम्बन्धी प्रश्न उठाउँदा जोखिम सामना गर्नुपरे पनि पछि हट्न नहुने संकेत गर्दै “बिरालोको घाँटीमा घण्टी बाँध्ने जोखिम कसैले न कसैले लिनै पर्छ, त्यसका लागि जस्तोसुकै मूल्य चुकाउन किन नपरोस्” भनेका छन्।

सार्वजनिक लेखा समितिमा अघिल्लो दिन भएको छलफलतर्फ संकेत गर्दै सुनारले भनेका छन्, “हिजोको मुद्दा बर्दी र फुली देखाएर धम्क्याउँदैमा सकिने विषय होइन।”

उनले आफ्नो अभिव्यक्ति समग्र प्रहरी संगठन वा तल्लो तहमा कार्यरत सुरक्षाकर्मीविरुद्ध नभएको पनि स्पष्ट पारेका छन्। आफू राष्ट्रसेवक प्रहरी सिपाही तथा आवश्यकताका बेला राज्यलाई साथ दिने म्यादी प्रहरीको पक्षमा सदैव रहेको उनको भनाइ छ।

सुनारले गरिब परिवारका छोराछोरी म्यादी प्रहरी, सिपाही र हवल्दारका रूपमा कार्यरत रहेको उल्लेख गर्दै उनीहरूका लागि व्यवस्था गरिने जुत्ता, मोजा, भित्री पोशाक र रासनसँग सम्बन्धित अर्बौं रुपैयाँको विषयमा गम्भीर उजुरी परेको दाबी गरेका छन्।

उनले आरोप लागेका व्यक्तिले सम्बन्धित निकायमा तथ्य र प्रमाणका आधारमा जवाफ दिनुपर्ने धारणा राख्दै भनेका छन्, “मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन दिने होइन। जुत्ता लगाउने हो, खाने होइन।”

सुनारको पछिल्लो अभिव्यक्ति प्रहरीको पोशाक, रासन तथा सामग्री खरिदसम्बन्धी विषयमा सार्वजनिक लेखा समितिमा उठेको विवादपछि आएको हो। उनले आर्थिक अनियमितताको आरोप निष्पक्ष रूपमा छानबिन हुनुपर्ने र सार्वजनिक पदमा रहेका व्यक्तिले जवाफदेहिता वहन गर्नुपर्नेमा जोड दिएका छन्।

सुनारले आफ्नो अभिव्यक्तिको अन्त्य नेपाल प्रहरीको आदर्श वाक्य “सत्य सेवा सुरक्षणम्” र “जय नेपाल” लेखेर गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button