नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच पाँच वर्षे रणनीतिक सहकार्य

ड्रागन मिडिया सम्वाददाता
नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता विकास, नवप्रवर्तन प्रवर्द्धन, सीप विकास तथा उद्योग र शैक्षिक क्षेत्रबीचको सहकार्यलाई संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यले पाँच वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार दुवै संस्थाले शैक्षिक क्षेत्र, उद्योग, नवउद्यम, लगानी समुदाय तथा नीतिनिर्माताबीच समन्वय बढाउँदै उद्यमशीलता, व्यावसायिक विकास, नवप्रवर्तन क्षमता र संस्थागत उत्कृष्टताका क्षेत्रमा दीर्घकालीन सहकार्य गर्नेछन्।
दुवै पक्षले विशेष तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन, क्षमता अभिवृद्धि, नवउद्यम तथा नवप्रवर्तन प्रवर्द्धन, लगानी प्रोत्साहन, रणनीतिक सञ्जाल विस्तार, अनुसन्धान तथा नीतिगत अध्ययन, ज्ञान आदानप्रदान र भविष्यकेन्द्रित शैक्षिक कार्यक्रम विकासमा संयुक्त रूपमा काम गर्ने समझदारी गरेका छन्।
नेपाल चेम्बर अफ कमर्सले आफ्ना सदस्य तथा सरोकारवालाको तालिम आवश्यकता पहिचान गर्ने, संयुक्त कार्यक्रममा सहभागिता बढाउने तथा व्यावसायिक वातावरणसँग सम्बन्धित कार्यक्रम सञ्चालनमा सहकार्य गर्नेछ। बागमती विश्वविद्यालयका विद्यार्थीलाई उद्योगसँग जोड्न इन्टर्नसिप तथा रोजगारी सहयोग केन्द्र स्थापना गर्न पनि चेम्बरले सहयोग गर्नेछ।
समझदारीमा अनुसन्धान कोष तथा छात्रवृत्ति सहयोग कार्यक्रम स्थापना गर्ने र उद्योग क्षेत्रका अनुभवी व्यावसायिक नेतृत्वलाई अतिथि वक्ताका रूपमा विश्वविद्यालयसँग जोड्ने व्यवस्था पनि गरिएको छ।
बागमती विश्वविद्यालयले शैक्षिक विशेषज्ञता उपलब्ध गराउने, तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने र नवउद्यम तथा नवप्रवर्तनका लागि परामर्श तथा मार्गदर्शन प्रदान गर्नेछ। विश्वविद्यालयले उद्योग र शिक्षाको सहकार्यमा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्नुका साथै सेमिनार, नीति संवाद र सम्मेलन आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।
चेम्बर अध्यक्ष अग्रवालले वर्तमान आवश्यकता अनुरूप विश्वविद्यालयहरू परम्परागत शिक्षा प्रणालीमा मात्र सीमित नभई उद्यमशीलता र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताए।
“विश्वविद्यालयहरूको मुख्य उद्देश्य केवल रोजगारी खोज्ने जनशक्ति उत्पादन गर्नु होइन, रोजगारी सिर्जना गर्ने उद्यमी र नेतृत्वकर्ता तयार गर्नु हो,” अग्रवालले भने। उनले ज्ञानलाई व्यवसाय, उद्योग र नवप्रवर्तनसँग जोड्न सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए।
बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. पौडेलले विश्वविद्यालय शिक्षा र उद्योगबीचको सम्बन्धलाई व्यावहारिक रूपमा जोड्ने अवधारणाअनुसार अघि बढिरहेको बताए। चेम्बरसँगको सहकार्यले विद्यार्थीलाई उद्योगसँग प्रत्यक्ष जोड्न, अनुसन्धानलाई व्यावहारिक बनाउन तथा नवउद्यम र नवप्रवर्तनका नयाँ अवसर सिर्जना गर्न सहयोग पुग्ने उनको विश्वास छ।
समझदारीपत्र हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म लागू रहने र दुवै पक्षको सहमतिमा अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ।





