नेपाल–चीन सम्बन्ध पारस्परिक सम्मान र लाभका आधारमा थप अघि बढाउन तयार छौँ : राजदूत चाङ माओमिङ

ड्रागन मिडिया सम्वाददाता
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले चीन सधैँ शान्तिपूर्ण विकासको बाटोमा अघि बढ्दै आएको उल्लेख गर्दै देशहरू आकार, शक्ति वा आर्थिक अवस्थाका आधारमा फरक भए पनि एकअर्काप्रति सम्मान, समान व्यवहार र शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तमा आधारित सम्बन्ध कायम गर्नुपर्ने बताएका छन्।
नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगितासम्बन्धी कार्यक्रममा बोल्दै राजदूत चाङले चीन नेपालसँग पारस्परिक सम्मान र पारस्परिक लाभका आधारमा द्विपक्षीय सम्बन्ध थप अघि बढाउन तयार रहेको बताए।

उनले दुई देशबीच भएका महत्वपूर्ण समझदारी कार्यान्वयन गर्दै नेपाल–चीन साझा भविष्यको समुदाय निर्माणलाई निरन्तर अगाडि बढाउने चीनको प्रतिबद्धता व्यक्त गरे।
राजदूत चाङले डिजिटल युगमा छोटा श्रव्यदृश्य सामग्रीले भाषा, दूरी र संस्कृतिका सीमा पार गर्दै केही सेकेन्डमै विषयवस्तु व्यापक दर्शकसमक्ष पुर्याउन सक्ने बताए।
यस वर्षको नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगितामा ठूलो सङ्ख्यामा श्रव्यदृश्य सामग्री प्राप्त भएको उल्लेख गर्दै उनले प्रतिस्पर्धीहरूले नेपाल–चीन सम्बन्धका विविध आयाम तथा दुवै देशका प्राकृतिक र सांस्कृतिक दृश्य प्रभावकारी रूपमा प्रस्तुत गरेको बताए।
उनले श्रव्यदृश्य सामग्रीमा भावना र आत्मीयता जोडिएको उल्लेख गर्दै नेपाल–चीन सम्बन्ध कूटनीतिक दस्तावेजमा सीमित राजनीतिक सहमति मात्र नभएको बताए। दुई देशका जनताबीच हुने सहकार्य, आदानप्रदान र भ्रमणमार्फत यो सम्बन्ध निरन्तर जीवन्त रहँदै आएको उनको भनाइ थियो।
कार्यक्रममा नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। प्रतियोगितामा दिपेश स्याङ्दान प्रथम हुँदै ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिज्ञ, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।





