१८ भाद्र २०८३, बिहीबार

चुनदेवी कार्यालयमा देउवालाई सभापतिको हैसियत, कांग्रेसभित्र विभाजनको रेखा थप स्पष्ट

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसको इतर समूहले शेरबहादुर देउवालाई पार्टी सभापतिको हैसियतमा काठमाडौंको चुनदेवीस्थित आफ्नो सम्पर्क कार्यालयमा प्रवेश गराएको छ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय प्रयोग गर्न थालेपछि इतर समूहले चुनदेवीमा अलग सम्पर्क कार्यालय स्थापना गरेको थियो। उक्त कार्यालयमा देउवाका लागि छुट्टै कार्यकक्षको व्यवस्था गर्नुका साथै ‘नेपाली कांग्रेस सभापति’ उल्लेख गरिएको बोर्डसमेत राखिएको छ।

विदेश भ्रमणबाट बिहीबार काठमाडौं फर्किएका देउवालाई इतर समूहका नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। त्यसपछि चुनदेवीस्थित कार्यालय पुगेका देउवालाई सभापतिको हैसियत प्रदान गरिएको हो।

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले पार्टी एकताका लागि आह्वान गरेका थिए। उनले आफ्नो राजनीतिक अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने तथा राष्ट्रिय एकताका लागि भूमिका निर्वाह गर्ने बताएका थिए।

तर चुनदेवीस्थित कार्यालयमा उनलाई औपचारिक रूपमा सभापतिको हैसियत दिइएपछि कांग्रेसभित्र नेतृत्वसम्बन्धी विवाद र विभाजनको रेखा थप स्पष्ट देखिएको छ।

विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले सानेपास्थित केन्द्रीय कार्यालयबाट गतिविधि सञ्चालन गरिरहेको अवस्थामा देउवा पक्षले पनि उनलाई सभापतिकै हैसियतमा अलग कार्यालयबाट राजनीतिक गतिविधि अघि बढाउन थालेको छ।

एउटै पार्टीभित्र दुई पक्षले आआफ्नो नेतृत्वलाई वैधानिक सभापतिको रूपमा प्रस्तुत गरिरहेका कारण कांग्रेसको आन्तरिक विवाद अब संगठनात्मक संरचनामै प्रत्यक्ष देखिन थालेको छ।

देउवाले सार्वजनिक रूपमा पार्टी एकताको आवश्यकता औँल्याए पनि चुनदेवीमा बनेको अलग सभापति कार्यकक्ष र त्यहाँबाट शुरु भएको गतिविधिले तत्काल कांग्रेसभित्रको नेतृत्व विवाद समाधान हुने संकेत भने दिएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button