मेचीनगरमा ‘शून्य बेरुजु’ अभियान, कुल बेरुजु ९६ करोड २९ लाख नाघ्यो

ड्रागन मिडिया सम्वाददाता
मेचीनगर नगरपालिकाले लामो समयदेखि फर्छ्योट हुन नसकेको बेरुजु रकम घटाउने उद्देश्यले ‘शून्य बेरुजु’ अभियान शुरु गरेको छ। नगरपालिकाको कुल बेरुजु हाल ९६ करोड २९ लाख ९६ हजार ९१७ रुपैयाँ पुगेको छ।
विसं २०५३ मा स्थापना भएको मेचीनगर नगरपालिकामा त्यसअघि अस्तित्वमा रहेका गाउँ विकास समितिका पालादेखिकै केही आर्थिक बेरुजु फर्छ्योट हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठका अनुसार ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७’ को नियम ८९ र ९० बमोजिम बेरुजु रकम दाखिला वा फर्छ्योट गर्न सम्बन्धित सबैलाई सार्वजनिक सूचना जारी गरिएको छ।
अभियानलाई चरणबद्ध रूपमा अघि बढाउने नगरपालिकाको योजना छ। दोस्रो चरणमा निर्माण व्यवसायी तथा उद्योगी व्यवसायीसँग सम्बन्धित बेरुजु फर्छ्योटका लागि उनीहरू आबद्ध संघ–संगठनसँग सहजीकरणको आग्रह गरिनेछ। त्यसपछि पनि बेरुजु कायम रहे तेस्रो चरणमा सम्बन्धित व्यक्तिको विवरण सार्वजनिक गर्ने तयारी गरिएको छ।
महालेखा परीक्षकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार उक्त आर्थिक वर्षमा मेचीनगर नगरपालिकाको बेरुजु १४ करोड ९९ लाख ४३० रुपैयाँ रहेको छ। त्यसअघिसम्मको अद्यावधिक बेरुजु ८१ करोड ३० लाख ४१ हजार ४८७ रुपैयाँ छ।
दुवै जोड्दा नगरपालिकाको कुल बेरुजु ९६ करोड २९ लाख ९६ हजार ९१७ रुपैयाँ पुगेको हो।
“बेरुजुलाई शून्यमा झार्ने हाम्रो अभियान हो,” प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने, “निर्माण व्यवसायी, जनप्रतिनिधि, व्यवसायी र अन्य सम्बन्धित व्यक्तिले बेरुजु फर्छ्योट गरेर सहयोग गर्ने विश्वास छ। फर्छ्योटका लागि पत्राचार गरेर पर्याप्त समय पनि दिन्छौँ।”
अभियान शुरु भएपछि वर्षौँदेखि बेरुजु दाखिला वा फर्छ्योट नगरेका केही सरोकारवाला नगरपालिकाको सम्पर्कमा आउन थालेको श्रेष्ठले जानकारी दिए। कतिपयले पुरानो बेरुजु रकमसमेत फर्छ्योट गर्न शुरु गरेको नगरपालिकाले जनाएको छ।
स्थानीय तहमा बढ्दो बेरुजु वित्तीय अनुशासन र सार्वजनिक स्रोतको उत्तरदायित्वसँग प्रत्यक्ष जोडिने भएकाले मेचीनगरको अभियानले पुराना आर्थिक दायित्व पहिचान र फर्छ्योट प्रक्रियालाई तीव्र बनाउने अपेक्षा गरिएको छ।





