सन् २०२६ को फ्युचर साइन्स प्राइज तीन वैज्ञानिकलाई

ड्रागन मिडिया समाचार कक्ष
सन् २०२६ को फ्युचर साइन्स प्राइज तीन वैज्ञानिकलाई प्रदान गरिएको छ। पुरस्कार आयोजकहरूले बिहीबार बेइजिङमा विजेताहरूको घोषणा गरेका हुन्।
चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको इन्स्टिच्युट अफ बायोफिजिक्सका अनुसन्धानकर्ता चाङ होङले जीवन विज्ञानतर्फको पुरस्कार प्राप्त गरेका छन्। बहुकोशीय जीवमा अटोफेजी अर्थात कोशिकाले आफ्नै अनावश्यक वा क्षतिग्रस्त अंश विघटन तथा पुनःप्रयोग गर्ने प्रक्रियाको विशिष्ट संयन्त्र र कार्यसम्बन्धी खोजमा गरेको अग्रणी योगदानका लागि उनलाई सम्मान गरिएको हो।
फुतान विश्वविद्यालयका प्राध्यापक चाओ तोङयुआनले भौतिक विज्ञानतर्फको पुरस्कार प्राप्त गरेका छन्। सूक्ष्म छिद्रयुक्त ठोस पदार्थ अर्थात मेसोपोरस सामग्रीसम्बन्धी संश्लेषण विधि, तिनको कार्यप्रणाली बुझ्ने आधार तथा औद्योगिक प्रयोग विस्तारमा उनको महत्वपूर्ण योगदान रहेको आयोजकहरूले जनाएका छन्।
मेसोपोरस सामग्री उत्प्रेरक प्रक्रिया, ऊर्जा रूपान्तरण तथा भण्डारण र जैवचिकित्साजस्ता क्षेत्रमा महत्वपूर्ण मानिन्छन्।
पेकिङ विश्वविद्यालयका प्राध्यापक युआन सिनयीले गणित तथा कम्प्युटर विज्ञानतर्फको पुरस्कार प्राप्त गरेका छन्। अंकगणितीय ज्यामितिमा गरेको आधारभूत योगदानका लागि उनलाई सम्मान गरिएको हो।
फ्युचर साइन्स प्राइज सन् २०१६ मा वैज्ञानिक र उद्यमीहरूको समूहले संयुक्त रूपमा स्थापना गरेको हो। पुरस्कारले मौलिक तथा आधारभूत वैज्ञानिक अनुसन्धानलाई प्राथमिकता दिँदै आएको छ।
सन् २०२६ सम्म यो पुरस्कारबाट कुल ४९ वैज्ञानिक सम्मानित भइसकेका छन्।





