१८ भाद्र २०८३, बिहीबार

डेढ महिनाको ढिलाइपछि धरानको २ अर्ब ७६ करोडको बजेट पारित

ड्रागन मिडिया सम्वाददाता

धरान उपमहानगरपालिकाले आन्तरिक विवादका कारण करिब डेढ महिना ढिलो गरी चालू आर्थिक वर्षका लागि २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँको बजेट पारित गरेको छ।

बिहीबार सम्पन्न १९औँ नगरसभामा कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले प्रस्तुत गरेको बजेट पारित भएको हो। स्थानीय तहले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था भए पनि धरानमा राजनीतिक तथा आन्तरिक विवादका कारण समयमै बजेट पारित हुन सकेको थिएन। बजेट पारित भएसँगै उपमहानगरपालिका लामो समयको ‘बजेट होलिडे’ अवस्थाबाट बाहिरिएको छ।

कुल बजेटमध्ये नगर कार्यपालिकातर्फ २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार तथा २० वटा वडा कार्यालयका लागि २८ करोड ७० लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको छ।

बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड ९४ लाख ८८ हजार, संघीय अनुदानबाट ८६ करोड १९ लाख, प्रदेश सरकारको अनुदानबाट ९ करोड १६ लाख ४८ हजार, राजस्व बाँडफाँटबाट ३२ करोड ८८ लाख ९१ हजार, सडक बोर्डबाट १ करोड तथा गत वर्षको मौज्दातबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

उपमहानगरपालिकाले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राखेको छ।

सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ ९९ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। यसमध्ये खाल्डाखुल्डीमुक्त नगर कार्यक्रमका लागि ४ करोड, भानुचोक सौन्दर्यीकरण तथा स्थायी मञ्च निर्माणका लागि १ करोड र सभागृह निर्माणका लागि २ करोड रुपैयाँ छुट्याइएको छ।

स्वास्थ्य क्षेत्रमा १२ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ। धरान अस्पताल सञ्चालनका लागि २ करोड र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यका कार्यक्रमका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ।

शिक्षा, युवा तथा खेलकुदतर्फ ४९ करोड ८६ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको छ। यसअन्तर्गत शैक्षिक तथा खेलकुद कार्यक्रम सञ्चालन गर्नुका साथै एउटा सामुदायिक विद्यालयलाई विद्यालय बस उपलब्ध गराउने योजना समेटिएको छ।

सामाजिक विकासतर्फ आन्तरिक स्रोतबाट १० करोड रुपैयाँ विनियोजन गरिएको छ। सुकुमवासी व्यवस्थापनका लागि ५० लाख, सिटी सफारी तथा ट्याम्पो चालक दुर्घटना सहयोग कोषका लागि २० लाख, लैङ्गिक समानता तथा समावेशीकरण कार्यक्रमका लागि १ करोड ५ लाख तथा सडक मानव व्यवस्थापन, खेलकुद र बाँदर नियन्त्रणलगायत कार्यक्रममा बजेट छुट्याइएको छ।

आर्थिक विकासतर्फ ६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ, जसमध्ये संकटग्रस्त सहकारी व्यवस्थापनका लागि मात्रै ५ करोड रुपैयाँ छुट्याइएको छ।

वन, वातावरण, ऊर्जा तथा विपद व्यवस्थापनतर्फ ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ। यसमध्ये विपद व्यवस्थापन कोषमा २ करोड रुपैयाँ राखिएको छ।

धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि चतरा क्षेत्रबाट कोशी नदीको पानी ल्याउने नेपाल सरकारको योजनामा साझेदारी गर्न उपमहानगरपालिकाले आन्तरिक स्रोतबाट ३ करोड ११ लाख रुपैयाँ विनियोजन गरेको कार्यवाहक प्रमुख बेघाले बताए।

लामो विवादपछि बजेट पारित भए पनि अब विनियोजित रकमको समयमै कार्यान्वयन, राजस्व लक्ष्य प्राप्ति र प्राथमिकताका आयोजना प्रभावकारी रूपमा अघि बढाउनु उपमहानगरपालिकाका लागि मुख्य चुनौती रहनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button