बाजुरामा पहिरोले दुई घर बगायो, एक युवती बेपत्ता, दुई घाइते

ड्रागन मिडिया सम्वाददाता
बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षापछि गएको पहिरोमा परी एक युवती बेपत्ता भएकी छन् भने दुई जना घाइते भएका छन्।
बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका–९ की २० वर्षीया प्रतीक्षा थापा रहेकी छन्। पहिरोमा परेर स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार धर्म थापाको बायाँ खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ भने धौलीदेवी रावलको टाउको, खुट्टा र शरीरमा चोट लागेको छ।
घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको प्रहरीले जनाएको छ।
अविरल वर्षापछि आएको पहिरोले धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रूपमा क्षति पुर्याएको छ। पहिरोले पुरिएर धर्म थापाकी छोरी प्रतीक्षा बेपत्ता भएकी हुन्।
उनको खोजीका लागि प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ।
खोजी तथा उद्धार कार्यमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीसमेत खटिएका छन्।





