१८ भाद्र २०८३, बिहीबार

देउवा समूहको तीनदिने राष्ट्रिय भेला सुरु, शशांकले भने ‘कांग्रेस एकजुट गर्न भेला’

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको तीनदिने राष्ट्रिय भेला शुक्रबार काठमाडौंमा सुरु भएको छ।

सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित भेलाको देउवाले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन्।

भेलाको सुरुआतमा आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले कांग्रेसलाई एकजुट बनाउने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको बताए। पार्टीभित्र देखिएको विवाद र विभाजनबीच उनले भेलालाई एकताको प्रयासका रूपमा प्रस्तुत गरेका हुन्।

उद्घाटनपछि देउवा समूह निकट नेताहरूले भेलालाई सम्बोधन गरिरहेका छन्। नेता मीन विश्वकर्माका अनुसार धेरै नेताको धारणा समेट्न प्रत्येक वक्तालाई तीन मिनेटको समय निर्धारण गरिएको छ। निर्धारित समय सकिएपछि माइक्रोफोन स्वतः बन्द हुने व्यवस्था गरिएको उनले बताए।

तीन दिनसम्म चल्ने भेलामा देशभरबाट सहभागी नेता तथा कार्यकर्ताले कांग्रेसको पछिल्लो आन्तरिक अवस्था, संगठन, नेतृत्व विवाद, पार्टी एकता र भावी राजनीतिक दिशाबारे छलफल गर्ने कार्यक्रम छ।

देउवा विदेशबाट बिहीबार काठमाडौं फर्किएका थिए। स्वदेश फर्किएलगत्तै उनले कांग्रेसभित्र एकताको आह्वान गरेका थिए। त्यसको भोलिपल्टै सुरु भएको राष्ट्रिय भेलालाई देउवा समूहको आगामी राजनीतिक तथा संगठनात्मक दिशाका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

विशेष महाधिवेशनपछि कांग्रेसभित्र नेतृत्व र आधिकारिकतासम्बन्धी विवाद कायम रहेका बेला सुरु भएको यो भेलाले पार्टीभित्रको मतभेद समाधानतर्फ जाने आधार तयार गर्छ वा समानान्तर राजनीतिक गतिविधिलाई थप संस्थागत गर्छ भन्ने विषय चासोका साथ हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button