१८ भाद्र २०८३, बिहीबार

उजुरीकै आधारमा कसैलाई दोषी ठहर गर्न मिल्दैन : गृहमन्त्री गुरुङ

ड्रागन मिडिया सम्वाददाता

गृहमन्त्री सुधन गुरुङले कुनै व्यक्तिविरुद्ध उजुरी परेकै आधारमा उनलाई दोषी ठहर गर्न नमिल्ने बताएका छन्।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबारको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा सार्वजनिक लेखा समिति सदस्य खगेन्द्र सुनारले प्रहरीको पोशाक खरिद प्रकरणमा उठाएको विषयप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको बताए।

सांसद सुनारले सार्वजनिक लेखा समितिको बैठकमा नेपाल प्रहरीको पोशाक खरिदमा अनियमितता भएको आशंका व्यक्त गर्दै प्रहरी महानिरीक्षकमाथि छानबिनको माग गरेका थिए।

त्यसप्रति संकेत गर्दै गृहमन्त्री गुरुङले आरोप वा उजुरीकै आधारमा कसैलाई दोषी घोषणा गर्नु उचित नहुने बताए।

“कसैलाई एउटा उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन,” गुरुङले भने, “आरोप कसैले जे पनि लगाउन सक्छ भन्दैमा कसैको चरित्र हत्या गर्न पाइँदैन। त्यसमा गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ।”

उनले कुनै आरोप तथ्य, प्रमाण र औपचारिक छानबिनबाट पुष्टि नभएसम्म सम्बन्धित व्यक्तिलाई दोषी करार गर्न नमिल्ने बताए।

प्रहरीको पोशाक, रासन तथा अन्य सामग्री खरिद प्रक्रियासम्बन्धी विषय सार्वजनिक लेखा समितिमा उठेपछि सांसद सुनार र प्रहरी नेतृत्वबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोप देखिएको छ।

गृहमन्त्री गुरुङको पछिल्लो अभिव्यक्तिले उक्त विवादमा कानुनी प्रक्रिया, प्रमाण र निष्पक्ष छानबिनलाई आधार बनाउनुपर्ने सरकारी धारणा स्पष्ट पारेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button