१८ भाद्र २०८३, बिहीबार

काठमाडौंमा २४सै घण्टा ग्यास बिक्री गर्ने तयारी, ३० देखि ५० स्थान तोकिने

ड्रागन मिडिया सम्वाददाता

सरकारले काठमाडौंमा खाना पकाउने एलपी ग्यासको बिक्री २४सै घण्टा खुला गर्ने तयारी गरेको छ। बजारमा देखिएको ग्यास अभाव र वितरण समस्या कम गर्न विभिन्न स्थान तोकेर निरन्तर बिक्रीको व्यवस्था गर्न लागिएको हो।

शुक्रबार उद्योग मन्त्रालयमा भएको छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले उपत्यकाका विभिन्न स्थानबाट २४सै घण्टा ग्यास बिक्री गर्ने तयारी भइरहेको जानकारी दिए।

उनका अनुसार उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन काठमाडौंका ३० देखि ५० स्थानसम्म बिक्री केन्द्र तोक्ने विषयमा तयारी भइरहेको छ।

“काठमाडौंका विभिन्न ठाउँ हेरेर ३०, ४० वा ५० स्थानमा ग्यास बिक्रीका लागि तयारी भइरहेको छ,” पौडेलले भने।

पछिल्लो समय बजारमा ग्यासको आपूर्ति सहज नभएको भन्दै उपभोक्ताबाट व्यापक गुनासो आइरहेको छ। नेपाल आयल निगमले सामान्य अवस्थाभन्दा बढी ग्यास आयात तथा वितरण भइरहेको बताए पनि कतिपय क्षेत्रमा उपभोक्ताले सहज रूपमा सिलिन्डर पाउन नसकेको अवस्था छ।

यसअघि निगमले होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी सिलिन्डर मौज्दात नराख्न आग्रह गर्दै कानुनी कारवाहीको चेतावनीसमेत दिएको थियो।

सरकारले प्रस्ताव गरेको २४सै घण्टा बिक्री व्यवस्था कार्यान्वयन भएमा उपभोक्तालाई तोकिएका केन्द्रबाट जुनसुकै समयमा ग्यास खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ। बिक्री केन्द्रको स्थान, सञ्चालन विधि र वितरण व्यवस्थाबारे थप विवरण भने सार्वजनिक हुन बाँकी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button