रोल्पाका बाढीपहिरो पीडितको उद्धार र राहतबारे वर्षमान पुनले प्रधानमन्त्री शाहको ध्यानाकर्षण

ड्रागन मिडिया सम्वाददाता
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी रोल्पामा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार र राहत व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
पुनले शुक्रबार बिहान सिंहदरबार पुगेर प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन्। भेटमा उनले रोल्पाका विभिन्न स्थानमा अविरल वर्षापछि गएको पहिरोबाट भएको क्षति, बेपत्ता नागरिकको खोजी तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने विषय उठाएको उनको सचिवालयले जनाएको छ।
रोल्पाको सुनछहरी गाउँपालिका–२ फलवाङमा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। स्थानीय वीरबहादुर घर्ती मगरको घर पहिरोमा पुरिँदा उनीसहित तीन जना बेपत्ता भएको जनाइएको छ।
त्यस्तै सुनछहरी गाउँपालिका–२ गिट्ठेमा स्थानीय लादे बुढा मगरको घरसमेत पहिरोले पुरेको छ। उक्त घरमा कति जना परेका छन् भन्ने विवरण भने अझै स्पष्ट भइसकेको छैन।
पुनले बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई तीव्र बनाउन, प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र थप जोखिममा रहेका बस्तीको सुरक्षाका लागि आवश्यक सरकारी संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ।





