नेविसंघ नेता शेर्पाको प्रश्न : ‘देउवालाई लिन गगन थापा र विश्वप्रकाश शर्मा विमानस्थल किन पुगेनन्?’

ड्रागन मिडिया सम्वाददाता
नेपाल विद्यार्थी संघका नेता दुवाङ शेर्पाले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किँदा पार्टी सभापति गगनकुमार थापा र महामन्त्री विश्वप्रकाश शर्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि नपुगेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
कांग्रेस संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै शेर्पाले १४औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापतिलाई स्वागत गर्न पार्टीका वर्तमान शीर्ष नेतृत्व उपस्थित नहुनुले उनीहरूको राजनीतिक संस्कारमाथि प्रश्न उठाएको बताए।
“नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापतिलाई लिन गगनकुमार थापा र विश्वप्रकाश शर्मा उपस्थित नभएको देख्दा उहाँहरूको संस्कारमाथि प्रश्न उठाउने ठाउँ रह्यो,” शेर्पाले भने।
उनले पार्टीभित्र देखिएको आन्तरिक मतभेद, दूरी र अविश्वासले संगठनलाई कमजोर बनाएको उल्लेख गर्दै त्यसको प्रभाव राष्ट्रिय राजनीतिमा समेत परेको दाबी गरे।
“जबजब कांग्रेस कमजोर रहन्छ, तबतब लोकतन्त्र संकटमा पर्छ। आज कांग्रेसमा देखिएको बेमेलका कारण देशमा संकट उत्पन्न भएको छ,” उनले भने।
शेर्पाले पार्टीभित्र देखिएको विभाजन र प्रतिस्पर्धालाई थप गहिरो बनाउनेभन्दा संवाद, सहकार्य र संगठनात्मक एकतामा जोड दिनुपर्ने बताए।
उनले कांग्रेसलाई पुनः एकताबद्ध बनाउँदै पार्टीभित्रको दूरी घटाउन नेतृत्व तहबाटै राजनीतिक संस्कार र सहिष्णुता देखाउनुपर्ने आवश्यकता रहेको धारणा राखे।





