१८ भाद्र २०८३, बिहीबार

विकासका लागि सकारात्मक दृष्टिकोण आवश्यक : सभामुख अर्याल

ड्रागन मिडिया सम्वाददाता

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको विकास यात्रालाई प्रभावकारी रूपमा अघि बढाउन सकारात्मक दृष्टिकोण आवश्यक रहेको बताएका छन्।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले विकास दीर्घकालीन प्रक्रिया भएकाले अपेक्षित परिणाम हासिल गर्न समय लाग्ने यथार्थ स्वीकार गर्नुपर्ने बताए।

उनले “केही भएन” वा “गर्न सकिएन” भन्ने धारणा फैलाएर समाजमा निराशा बढाउनु उचित नहुने उल्लेख गरे। निरन्तर नकारात्मकताले मुलुकलाई पुनः असफलतातर्फ धकेल्ने जोखिम रहने उनको भनाइ थियो।

सभामुख अर्यालले इतिहासमै पहिलोपटक सरकार र प्रतिनिधिसभाले बलियो जनादेश प्राप्त गरेको उल्लेख गर्दै अहिलेको नेतृत्वलाई असफल हुने छुट नरहेको बताए।

उनले विगतमा कानुन निर्माणका क्रममा पर्याप्त रूपमा समेटिन नसकेका सरोकारवालालाई अब नीति तथा कानुन निर्माण प्रक्रियामा प्रत्यक्ष रूपमा सहभागी गराइने प्रतिबद्धता व्यक्त गरे।

देशको भूगोल, सामाजिक अवस्था र नागरिक चेतनालाई सुहाउँदो प्रभावकारी कानुन निर्माण गर्नुपर्नेमा जोड दिँदै सभामुख अर्यालले आगामी पुस्ताका लागि बस्नलायक देश निर्माण गर्ने जिम्मेवारी सबैको साझा दायित्व भएको बताए।

उनले संसदले कानुन निर्माणलाई जनजीवनसँग प्रत्यक्ष जोड्दै दीर्घकालीन राष्ट्रिय हितअनुकूल नीति निर्माणमा निरन्तर काम गर्ने बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button