कांग्रेस एकजुट भए कसैले पराजित गर्न सक्दैन : शशांक कोइराला

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउनु आफ्नो कर्तव्य भएको बताएका छन्।
शुक्रबार कांग्रेसको इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टीभित्रको विभाजन अन्त्य गरी संगठनलाई एकताबद्ध बनाउनु भेलाको मुख्य उद्देश्य रहेको बताए।
“नेपाली कांग्रेस एकजुट भएको खण्डमा नेपाली कांग्रेसलाई कसैले पनि पराजित गर्न सक्दैन,” उनले भने, “यसको मुख्य उद्देश्य यही हो।”
कोइरालाले कांग्रेसको शक्ति आन्तरिक एकता, सहकार्य र आपसी विश्वासमा निर्भर रहने उल्लेख गर्दै वर्तमान मतभेदलाई संवादबाट समाधान गर्नुपर्नेमा जोड दिए।
उनले आफ्ना पिता तथा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले शेरबहादुर देउवालाई “पश्चिमको राजकुमार” भनेर सम्बोधन गरेको प्रसङ्गसमेत स्मरण गरे।
पूर्वसभापति देउवाको उपस्थितिले राष्ट्रिय भेलालाई थप महत्वपूर्ण बनाएको उल्लेख गर्दै कोइरालाले उनको सहभागितासँगै भेला सफल भएको बताए।
तीनदिने राष्ट्रिय भेलामा कांग्रेसको आन्तरिक अवस्था, संगठनात्मक एकता, नेतृत्व विवाद र भावी राजनीतिक दिशाबारे छलफल भइरहेको छ।





