१८ भाद्र २०८३, बिहीबार

धवल शम्शेर राणा र दुर्गा प्रसाईंको सहयात्रा टुट्यो, ‘जय नेपाल पार्टी’ दर्ताका लागि आयोगमा निवेदन

ड्रागन मिडिया सम्वाददाता

राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति संरक्षणको एजेन्डासहित दुई महिनाअघि नयाँ राजनीतिक शक्ति निर्माणका लागि सहकार्य थालेका राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री डा. धवल शम्शेर राणा र राष्ट्रिय अभियानका संयोजक दुर्गा प्रसाईं अलग भएका छन्।

सहयात्रा टुटेपछि राणाले शुक्रबार आफ्ना समर्थकसहित निर्वाचन आयोग पुगेर ‘जय नेपाल पार्टी’ दर्ताका लागि निवेदन दिएका छन्। पार्टी औपचारिक रूपमा दर्ता हुनुअघि नै राणा र प्रसाईंबीचको सहकार्य समाप्त भएको हो।

राणा र प्रसाईंले राजसंस्था पुनर्स्थापना तथा हिन्दु राष्ट्र स्थापनालाई प्रमुख राजनीतिक एजेन्डा बनाउँदै दुई महिनाअघि संयुक्त राजनीतिक शक्ति निर्माण गर्ने सहमति गरेका थिए।

प्रारम्भिक समझदारीअनुसार राणा अध्यक्ष र प्रसाईं ‘सर्वोच्च नेता’ रहने व्यवस्था गरिएको थियो। १०१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने तथा त्यसमा राणा पक्षबाट ४०, प्रसाईं पक्षबाट ४० र तटस्थतर्फबाट २० जना सदस्य राख्ने सहमति भएको थियो। पार्टीको चुनाव चिह्न ‘त्रिभुज’ प्रस्ताव गरिएको थियो।

तर दल दर्ताको अन्तिम तयारीका क्रममा नेतृत्वको वरीयता र शक्ति बाँडफाँटसम्बन्धी विवाद चर्किएपछि उनीहरू अलग भएका हुन्।

प्रसाईंले पार्टीको पहिलो वरीयतामा आफू रहनुपर्ने अडान राखेका थिए। राणाले उक्त माग स्वीकार नगरेपछि दुई पक्षबीच सहमति हुन नसकेको बताइएको छ।

दल दर्ता गर्ने समय र नेतृत्व संरचनाबारे समेत विवाद देखिएको थियो। प्रसाईंले पछिल्लो समय राणा पक्षप्रति असन्तुष्टि जनाउँदै राजसंस्था पुनर्स्थापनाको मुद्दामा समेत प्रश्न उठाएका थिए।

यससँगै राणा र प्रसाईंले संयुक्त रूपमा अघि बढाउने भनिएको राजनीतिक अभियान औपचारिक दल दर्ताको चरणमा पुग्नुअघि नै विभाजित भएको छ।

राणाले अब ‘जय नेपाल पार्टी’मार्फत अलग राजनीतिक यात्रा अघि बढाउने तयारी गरेका छन् भने प्रसाईंको भावी राजनीतिक संरचना र रणनीति भने स्पष्ट भइसकेको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button