रौतहटका तीर्थयात्री सवार बस झारखण्डमा दुर्घटना, तीन नेपालीको मृत्यु, ४५ भन्दा बढी घाइते

ड्रागन मिडिया सम्वाददाता
रौतहटको गरुडा नगरपालिका–६ पोठीयाही गाउँबाट भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाम र बासुकीनाथ दर्शन गर्न गएका नेपाली तीर्थयात्री सवार बस शुक्रबार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा ४५ भन्दा बढी यात्रु घाइते भएका छन्।
मृत्यु हुनेमा गरुडा–६ पोठीयाहीका नवल चौधरी र उनकी श्रीमती तथा सोही गाउँका राजेश महतोका १४ वर्षीय छोरा शिवम महतो रहेका छन्।
गरुडा–६ का वडाध्यक्ष रामबाबु चौधरीका अनुसार गाउँबाट ४७ जना तीर्थयात्री बुधबार बाबा वैद्यनाथ धामतर्फ गएका थिए। दर्शन तथा पूजा सकेर फर्कने क्रममा उनीहरू सवार बस झारखण्डमा ट्रकसँग ठोक्किएको हो।
बसमा चालक दलका सदस्यसहित करिब ५० जना सवार रहेको जनाइएको छ। दुर्घटनामा अधिकांश यात्रु घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार बाबा वैद्यनाथ धाम र बासुकीनाथ दर्शनपछि राजगीरतर्फ फर्कँदै गरेको बस झारखण्डको कोडरमा जिल्लास्थित पोखरडिहा मोड नजिक ट्रकसँग ठोक्किएको थियो।
दुर्घटनालगत्तै स्थानीय प्रहरी घटनास्थल पुगेको थियो। घाइतेहरूलाई नजिकका अस्पतालमा उपचारका लागि लगिएको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको जानकारी प्राप्त भएको बताएका छन्। उनका अनुसार भारतीय सुरक्षा अधिकारीहरूसँग समन्वय गरी घटनाबारे थप विवरण संकलन भइरहेको छ।
जिल्ला प्रशासनले घटनाबारे माथिल्लो निकायलाई समेत जानकारी गराइसकेको जनाएको छ। घाइतेहरूको अवस्था र दुर्घटनामा परेका अन्य यात्रुको विवरण संकलन गर्ने काम जारी छ।





