सहकारी, लघुवित्त र मिटरब्याज पीडितको मानव अधिकार आयोगअगाडि धर्ना

ड्रागन मिडिया सम्वाददाता
सहकारी, लघुवित्त तथा मिटरब्याज पीडितहरूले आफ्ना समस्या समाधानको माग गर्दै शुक्रबार साँझ राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयअगाडि धर्ना दिएका छन्।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको अगुवाइमा मधेसका विभिन्न जिल्लाबाट काठमाडौं आएका पीडितहरू कलंकीबाट पैदलयात्रा गर्दै आयोगको कार्यालय पुगेका हुन्।

आफ्ना मागबारे आयोगको ध्यानाकर्षण गराउन पुगेका उनीहरूलाई सुरक्षाकर्मीले कार्यालयको प्रवेशद्वारमै रोकेपछि नाराबाजी गर्दै धर्नामा बसेका थिए।
सहकारी, लघुवित्त तथा मिटरब्याजबाट पीडित व्यक्तिहरू आफ्ना समस्या समाधानका लागि सरकारलाई दबाब दिन पैदलमार्च गर्दै बिहीबार काठमाडौं आइपुगेका थिए।
पीडितहरूले ऋण, अस्वाभाविक ब्याज, सहकारीमा फसेको बचत तथा लघुवित्तसम्बन्धी समस्या समाधानका लागि प्रभावकारी सरकारी हस्तक्षेपको माग गर्दै आएका छन्।
मानव अधिकार आयोगसमक्ष उनीहरूले आफ्ना आर्थिक तथा सामाजिक अधिकार संरक्षणका लागि पहल गरिदिन आग्रह गर्ने तयारी गरेका थिए। तर आयोग परिसर प्रवेश गर्न नपाएपछि उनीहरूले गेटअगाडि नै विरोध प्रदर्शन र धर्ना जारी राखेका हुन्।





