निराशालाई आशामा बदल्ने दायित्व कांग्रेसले लिनुपर्छ : देउवा

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले मुलुकमा देखिएको निराशालाई आशामा बदल्ने दायित्व कांग्रेसले लिनुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा पार्टीको संस्थापन इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले नेपालको राजनीतिक इतिहास, लोकतान्त्रिक संघर्ष र अग्रजहरूको योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताए।
उनले नेपाली कांग्रेसको विगतको भूमिका बुझ्न २००७ सालअघिको राणाकालीन अवस्था, त्यस समयको गरिबी तथा त्यसपछिको निरंकुश निर्दलीय व्यवस्थाविरुद्ध पार्टीले गरेको संघर्षबारे नयाँ पुस्तालाई जानकारी गराउनुपर्ने धारणा राखे।
“समाजमा अहिले पनि निराशा देखिएको छ। यो निराशालाई आशामा बदल्नुपर्ने हुन्छ,” देउवाले भने, “यो दायित्वसमेत सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले लिनुपर्दछ।”
उनले कांग्रेसले विगतमा के गर्यो भन्ने प्रश्नको उत्तर खोज्दा नेपालको राजनीतिक इतिहास र जनअधिकारका लागि भएका संघर्षलाई समग्र रूपमा हेर्नुपर्ने बताए।
“नेपाली कांग्रेसले विगतमा के गर्यो भन्ने कुराको जवाफ खोज्न २००७ सालअघिको राणाकालीन अवस्था, त्यो बेलाको गरिबी र पछिको निरंकुश निर्दलीय व्यवस्था, त्यो बेला नेपाली कांग्रेसले जनअधिकारको पक्षमा गरेको काम सबैले बुझ्न आवश्यक छ,” उनले भने।
देउवाले अग्रजहरूको बलिदान र लामो संघर्षबाट मुलुक अहिलेको अवस्थामा आइपुगेको उल्लेख गर्दै इतिहास बिर्सिए सही राजनीतिक गन्तव्य पहिल्याउन नसकिने बताए।
“हाम्रा अग्रजहरूले ज्यानको आहुति दिएर, बलिदानपूर्ण संघर्ष गरेर र अनेक दुःख, कष्ट गरेर मुलुक अहिलेको अवस्थामा आएको हो,” उनले भने, “हामीले हाम्रो इतिहास बिर्सिने हो भने हाम्रो गन्तव्यमा पुग्न सक्दैनौँ। इतिहासबाट पाठ सिकेर गन्तव्य तय गर्न सके मात्रै सही बाटो पहिल्याउन सकिन्छ।”
उनले राजनीतिक परिवर्तन र अग्रजहरूको योगदानको इतिहास टोल–टोलसम्म पुर्याउन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।
विगतमा केही पनि उपलब्धि नभएको र सबै खराब मात्रै भएको भन्ने भाष्य समाजमा फैलाउन खोजिएको भन्दै देउवाले यस्तो सोचले मुलुकलाई थप कमजोर बनाउने बताए।
उनले इतिहासको उपलब्धि र कमजोरी दुवैबाट पाठ सिक्दै लोकतान्त्रिक मूल्य, जनअधिकार र राष्ट्रिय एकतालाई बलियो बनाउने दिशामा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।





