नेपाल–रुस सम्बन्धको ७० वर्ष : पोखरामा पर्यटन सहकार्य विस्तारबारे फोटो प्रदर्शनी र अन्तरक्रिया

ड्रागन मिडिया सम्वाददाता
नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा पोखरामा ‘नेपालको पर्यटनमा रुसको भूमिका’ विषयक फोटो प्रदर्शनी तथा औपचारिक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा रुसी कूटनीतिक नियोग, गण्डकी प्रदेशसभा, नेपाल पर्यटन बोर्ड, पर्यटन व्यवसायी, प्राज्ञिक क्षेत्र तथा नेपाल–रुस मैत्री संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।
कार्यक्रममा सात दशक लामो नेपाल–रुस सम्बन्धको ऐतिहासिक पृष्ठभूमिको स्मरण गर्दै पर्यटन, संस्कृति, शिक्षा, अनुसन्धान तथा जनस्तरीय सम्बन्धमा सहकार्य विस्तार गर्न सकिने सम्भावनाबारे छलफल भएको थियो।

नेपाल र तत्कालीन सोभियत संघबीच सन् १९५६ मा राजा महेन्द्रको शासनकाल र टंकप्रसाद आचार्यको प्रधानमन्त्रीत्वमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसपछि शिक्षा, प्राविधिक सहयोग, स्वास्थ्य, औद्योगिक तथा विकास पूर्वाधारका क्षेत्रमा द्विपक्षीय सम्बन्ध विस्तार हुँदै गएको थियो। राजा महेन्द्रले सन् १९५८ मा सोभियत संघको राजकीय भ्रमण गरेका थिए भने राजा वीरेन्द्रले सन् १९७६ मा सोभियत संघको राजकीय भ्रमण गरेका थिए।
कार्यक्रममा नेपाल–रुस जनमैत्री समाजका कार्यकारी सदस्य अनन्तकुमार श्रेष्ठले स्वागत मन्तव्य दिँदै ७०औँ वार्षिकोत्सवलाई विगतका उपलब्धिको स्मरणसँगै पर्यटन र जनस्तरीय सम्पर्क विस्तार गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए।
मित्र कुञ्जका उपाध्यक्ष इञ्जिनियर लक्ष्मीप्रसाद त्रिपाठीले नेपाल–रुस कूटनीतिक सम्बन्धको ऐतिहासिक विकास र दुई देशबीचको मित्रताको आधारबारे चर्चा गरे।
पर्यटन विषयका अध्यापक तथा विद्यावारिधि शोधार्थी सुवास मल्लले नेपालको पर्यटन विकासमा रुसको योगदान तथा प्रभावबारे अनुसन्धानमूलक प्रस्तुति दिएका थिए। उनले विशेषगरी पोखरामा रुसी पर्यटक आकर्षित गर्ने सम्भावना तथा दुई देशबीच पर्यटन सहकार्य विस्तार गर्न सकिने क्षेत्रबारे चर्चा गरे।
सहायक प्राध्यापक तथा विद्यावारिधि शोधार्थी उज्ज्वल अधिकारीले नेपाल र रुसबीच शिक्षा, अनुसन्धान तथा ज्ञान आदानप्रदानका क्षेत्रमा संस्थागत सहकार्य विस्तार गर्न सकिने सम्भावना प्रस्तुत गरे।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले नेपाल आउने रुसी पर्यटकको महत्व उल्लेख गर्दै रुसी बजारमा पोखराको गन्तव्य प्रवर्द्धन, पर्यटन प्रचार तथा पर्यटन संस्थाहरूबीच प्रत्यक्ष सहकार्य विस्तार आवश्यक रहेको बताए।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका वरिष्ठ अधिकारी मणिराज लामिछानेले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनका लागि समन्वित पहल आवश्यक रहेको उल्लेख गर्दै रुसी पर्यटन बजारसँग संस्थागत सम्पर्क विस्तार गर्न सकिने बताए।
नेपालस्थित रुसी महासंघको दूतावासकी काउन्सिलर तथा काठमाडौंस्थित रुसी हाउसकी प्रमुख अनास्तासिया खोखलोभाले विशेष अतिथिका रूपमा सम्बोधन गर्दै नेपाल र रुसबीचको दीर्घकालीन मित्रताको चर्चा गरिन्। उनले पर्यटन, संस्कृति, शिक्षा र जनस्तरीय सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिइन्।
गण्डकी प्रदेशसभाकी उपसभामुख वीना कुमारी थापाले प्रमुख अतिथिको मन्तव्य दिँदै नेपाल–रुस सम्बन्धलाई थप व्यावहारिक सहकार्यमा रूपान्तरण गर्न सकिने बताइन्। उनले गण्डकी प्रदेश र पोखराले रुसी संस्था तथा शहरहरूसँग पर्यटन र सांस्कृतिक क्षेत्रमा प्रत्यक्ष सम्बन्ध विस्तार गर्न सक्ने सम्भावना रहेको उल्लेख गरिन्।
नेपाल–रुस जनमैत्री समाजका संस्थापक अध्यक्ष कुसुम केशव पराजुलीले सोभियतकालदेखि वर्तमानसम्म समाजले नेपाल–रुस मित्रता विस्तारमा निर्वाह गरेको भूमिकाको स्मरण गरे। उनले रुसी दूतावास र रुसी हाउससँगको सहकार्यमा सांस्कृतिक आदानप्रदान तथा जनस्तरीय सम्बन्ध प्रवर्द्धनका गतिविधि निरन्तर सञ्चालन भइरहेको बताए।
समाजका अध्यक्ष केशवराज लम्सालले समापन मन्तव्य दिँदै पर्यटन, संस्कृति, शिक्षा तथा समुदायस्तरको सम्पर्कलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नेपाल–रुस मित्रता र सहकार्य प्रवर्द्धनमा योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई प्रमाणपत्र र कदरस्वरूप चिनोसमेत प्रदान गरिएको थियो।
कार्यक्रमले ७० वर्ष लामो कूटनीतिक सम्बन्धको इतिहास स्मरण गर्नुका साथै भविष्यमा रुस र पोखराबीच पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान, शिक्षा, संस्थागत साझेदारी र जनस्तरीय सम्पर्क विस्तारका नयाँ सम्भावनामाथि केन्द्रित संवादको मञ्च प्रदान गरेको छ।
नेपालको हिमाली भूगोल, पर्वतारोहण तथा प्राकृतिक पर्यटन र रुसको विशाल पर्यटन बजार तथा पर्वतीय संस्कृतिबीच संस्थागत सम्पर्क विस्तार गर्न सकिए पोखरालाई रुसी पर्यटकका लागि अझ परिचित गन्तव्यका रूपमा विकास गर्ने सम्भावना रहेको कार्यक्रमका सहभागीहरूको निष्कर्ष थियो।





