देशभर मनसुन सक्रिय, चार प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

ड्रागन मिडिया सम्वाददाता
हाल देशभर मनसुन वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार बिहान कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बदली रहेको छ। मधेस प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो देशभर साधारणतया बदली रहने अनुमान छ। देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शनिबार राति देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका तराईका एकदुई स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना र पूर्वानुमानअनुसार अद्यावधिक रहन पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।





